काठमाडौंमै भेटियो हरियाली गाउँ, भाले बासेपछि शुरु हुन्छ बिहानी

जुझारु जोडीको नौलो प्रयोग

काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारा चोकबाट केही मिनेट उकालो लागेपछि पुगिन्छ अर्गानिक फार्म हाउस रिसोर्ट । 

यो रिसोर्ट हो तर, रिसोर्ट जस्तो छैन । किनकी यहाँ इम्पोर्टेड लाइट छैनन्, लालटिन झुन्डाइएको छ । यहाँका गेट तथा कम्पाउन्ड बनाउन आधुनिक रड होइन बाँसका भाटा र झिक्रा प्रयोग गरिएको छ । यहाँको हावामा एयर फ्रेस्नर र अत्तरको गन्ध होइन प्रकृतिको ताजा बास्ना हर्हराउँछ । गेटमा स्वागत गर्दै मुस्कुराउँछन् आल्चा, आरु, आँप, गुलाब, धुपीका बोटहरु ।


ADVERTISEMENT

मुस्कान छिचोलेर अघि बढ्दै जाँदा पुगिन्छ एउटा घर जो घर कम, गाउँले जीवनलाई समग्रमा झल्काउने सानोतिनो संग्रहालय ज्यादा लाग्छ । पाहुनाको सत्कार यहाँ गुन्द्री र राढीले गर्छन् । भित्तामा हलो, जुवाका स्याम्पल राखिएका छन्, सुंगुर बोक्ने पेरुङ्गो छ, लालटिन छ, गाउँले पारामा लसुन, प्याज झुन्डाइएको छ । छेउमै माटोले पोतिएको चिटिक्क परेको चुलो बनाइएको छ । अलि तल्तिर लागेपछि गोठमा गाई उग्राइरहेका देखिन्छन् । बाख्रापाठा दिनभरि बारीमा चर्छन्, राती खोरमा । खोरकै छेउमा बाँसका झिक्राले बारेर कुखुरा पालिएको छ । अझै पर पुगेपछि दौंतरी घर, सोल्टिनी घर, देउराली घर आदि जस्ता मौलिक नामहरु दिइएका ससाना कटेज छन् । काउली, टमाटर, सागपात, बन्दा, खुर्सानी, गाँजर, मुला, केराउ आदिजस्ता तरकारीलाई आवश्यक वातावरण र स्थान मिलाएर रोपिएको छ । 

पढाइ वा कामको सिलसिलामा आफ्नो गाउँबाट धेरै टाढा अर्काको शहरमा दिनरात घोटिनु परेका व्यक्तिका निमित्त यो फार्म हाउस पुरानो दिनहरुलाई फेरि बाँच्ने राम्रो अवसर हुन सक्छ भने गाउँघरको जीवनशैलीबाट अनविज्ञहरुका निमित्त नयाँ अनुभव सँगाल्ने अवसर ।

पढाइ वा कामको सिलसिलामा आफ्नो गाउँबाट धेरै टाढा अर्काको शहरमा दिनरात घोटिनु परेका व्यक्तिका निमित्त यो फार्म हाउस पुरानो दिनहरुलाई फेरि बाँच्ने राम्रो अवसर हुन सक्छ भने गाउँघरको जीवनशैलीबाट अनविज्ञहरुका निमित्त नयाँ अनुभव सँगाल्ने अवसर । विगत ९ वर्षदेखि यो अवसर प्रदान गरिरहेका छन् पेम्बा शेर्पा(संगम) र उनकी पत्नी बन्दी शेर्पाले ।

शेर्पा दम्पत्ती पेशाले ट्रेकिङ गाइड हुन् । संगम यही सिलसिलामा अमेरिका, यूरोप लगायत विश्वका विभिन्न देश पुगिसकेका छन्  भने बन्दीले गाइडका रुपमा काम गर्ने क्रममा ६ हजार मिटर उचाइका निकै हिमालहरु छिचोलिसकेकी छिन् । अहिले भने दुवैजनाले आफ्नो समय अर्गानिक हाउसकै संरक्षण र प्रवद्र्धनमा खर्चिरहेका छन् । 

हरेक सफल व्यक्तिका पछाडि महिलाको हात हुन्छ भन्ने भनाइ संगमको जीवनले प्रमाणित गर्छ । फार्म हाउसको योजना संगमले बनाए तर, त्यसमा विश्वास गरेर सफल बनाउने प्रतिवद्धता देखाइन् बन्दीले । उपयुक्त जमिन खोज्ने, कानूनी प्रक्रिया पूरा गर्ने, आवश्यक रकम जुटाउने आदि जस्ता तनावबाट गुज्रिरहँदा बन्दी संगमको आड बनिन्, योजनाले मूर्तरुप लिइसक्दा पनि बन्दी उत्ति नै सक्रिय छिन् जति संगम छन् । यस दम्पत्तीको सहकार्य र साथ व्यवसायमा मात्र होइन व्यक्तिगत जीवनमा पनि उत्तिकै लोभलाग्दो छ । 

‘चुटिएको चप्पल गाँस्दै लाउने अवस्था नहोस् मेरो छोराछोरीको’

ताप्लेजुङस्थित साँगुको किसान परिवारमा जन्मिएका संगम एक्लो छोरा हुन् । खानलाउन समस्या नभएपनि कति इच्छा आकांक्षा आधुरा रहन्थे र कति आवश्यकताहरु पनि । बाजेबराजुदेखि नै खेतीकिसानी गर्ने परम्परा भएकाले त्योदेखि बाहिर निस्किएर कमाउनुपर्छ भन्ने सोच कसैको नभएको उनी बताउँछन् । तर, एउटा घटनाले उनको चेत खुलायो । त्यस घटनालाई उनी यसरी स्मरण गर्छन् :

गाउँमा एकदुई पटक चप्पल चुटिँदा गाँस्दै लगाउने चलन थियो । म पनि त्यसै गर्थें । मैले यति चोटी चप्पल गाँसिसकेको थिएँ कि त्यहाँदेखि गाँस्ने ठाउँ नै बाँकी रहेन । आमासँग नयाँ चप्पल किन्ने पैसा माँगें, थिएन । साह्रै नमीठो लाग्यो । मेरो छोराछोरीले कम्तीमा यस्तो स्थिति भोग्नु नपरोस् भनेर पैसा कमाउन शहर पसें ।

वि सं २०५२ सालमा काठमाडौं छिरेका संगमका त्यसपछिका दिनहरु पनि कम्ती संघर्षमयी रहेनन् । उनका कति रात परालको कुनिउँमा बितेका छन् भने कति रात पर्यटकहरुको भारी बोक्ने क्रममा कठ्याङ्ग्रिने टेन्टमा अनि कति रात किचेन ब्वाइका रुपमा काम गर्दा भान्सामै । जे होस् त्यसवेला झेलेका अप्ठ्याराहरुले यही सफलताको लागि आफूलाई तयार गरिरहेका रहेछन् भनेर बुझिसकेको उनी बताउँछन् । 

अहिले उनको ‘हिमालयन लिजेन्ड ट्रेकिङ कम्पनी’ नामक आफ्नै ट्रेकिङ कम्पनी छ । यस फार्म हाउसको अवधारणालाई पनि देशैभर फैलाउने उनको सपना छ ।  

संगमसँग अहिले पनि अमेरिकामै बस्ने अवसर छ । तर, उनी चाहँदैनन् । उनलाई आफ्नै देशमा उद्यमशीलता पोखाउनु छ, आफ्ना सन्तान र देशका उर्जाशील जनशक्तिलाई नेपालमै रोकेर राख्नु छ । 

हातमा अमेरिकाको भिसा, मनमा नेपालको माया

शेर्पा दम्पत्ती आमा र दुई छोराछोरीसँग फार्म हाउसमै बस्छन् । घरको सिकुवामा लालटिन, पेरुङ्गो, हलो, जुवा आदिसँगै फ्रेम गरिएको अमेरिकाको भिजा पनि छ जसको डेट एक्सपायर भइसकेको छैन । अर्थात् संगमसँग अहिले पनि अमेरिकामै बस्ने अवसर छ । तर, उनी चाहँदैनन् । उनलाई आफ्नै देशमा उद्यमशीलता पोखाउनु छ, आफ्ना सन्तान र देशका उर्जाशील जनशक्तिलाई नेपालमै रोकेर राख्नु छ । 

‘खै अमेरिकालाई किन स्वर्ग देख्छन् सबै नेपालीले,’ उनले निधार खुम्चाउँदै भने, ‘नेपालीका लागि त अमेरिका नर्क नै हो ।’

उनको आपत्तिजनक अभिव्यक्तिप्रति हामीले जिज्ञासा राख्यौं, ‘किन ?’

‘यहाँ शानका साथ आफ्नो पढाइ, क्षमताअनुसार काम गरिरहेको मान्छेले उता पाउने भनेको भाँडा माझ्ने, ट्याक्सी चलाउने, किचेन ब्वाइ, भुइँ पुस्ने काम त हो, अनि नर्कै बराबर भएन र,’ संगमको यस वाक्यले हाम्रो जिज्ञासामा पूर्णविराम लगाइदियो ।

‘घर बनाइन, उद्यम गरें’

२५ रोपनीमा फैलिएको फार्म हाउस र त्यहाँको सम्पूर्ण संरचना र डिजाइनको थालनी २० लाख रुपैयाँबाट गरिएको संगमले बताए । यो त्यही २० लाख रुपैयाँ थियो जुन संगमले घर बनाउनका निमित्त दिनरात जोहो गरेका थिए । तर, २० लाखलाई सिमेन्ट, बालुवामा खर्चिनु भन्दा उद्यमशीलतामा सदुपयोग गर्नु उपयुक्त लाग्यो उनलाई । उनले त्यही गरे । ‘घरले न खान दिन्छ न त पैसा,’ उनी अगाडि थप्छन्, ‘तर, बिज्नेसले एउटा पहिचान दिन्छ र आयआर्जनको अन्य बाटो खोलिदिन्छ ।’ 

‘कृषि र पर्यटनमा सम्भावना बोकेको हाम्रो देश नेपाल’ भन्ने भनाइ शब्दमा मात्रै सीमित नरहोस् भन्ने उद्देश्यले यी दुई क्षेत्रलाई जोड्ने प्रयासका रुपमा यो फार्म हाउसको स्थापना गरेको संगमको भनाइ छ । ‘यो अवधारणा नेपालका लागि मात्र नभएर विश्वकै लागि नौलो हो,’ उनी थप्छन्, ‘किसान र पर्यटन व्यवसायीका लागि यो अवधारणा आम्दानीको राम्रो माध्यम हुनसक्छ ।’

आफूले जमिन भाडामा लिएर स्थापना गरेपनि बिगौं बिगा जमिन बाँझै छोडेका व्यक्तिहरुले आफ्नै जमिनमा यस्तो किसिमको फार्म हाउस र रिसोर्ट बनाउन सक्ने संगम बताउँछन् । उनको भनाइ यही हो कि, ‘कम्तीमा आफूसँग भएको चीजलाई सिर्जनशील तरिकाले सदुपयोग गरौं, वैदेशिक रोजगारीमा भर पर्नुभन्दा आफैं रोजगारी सिर्जना गरौं ।’

Leave a comment