सडकले जोड्दै पर्यटकीयस्थल

बागलुङ । पर्यटकसँगै सर्वसाधारणको आउजाउ सहज बनाउन धम्जादेखि म्याग्दीको भकिम्ली जोड्ने सडक निर्माणको काम शुरु भएको छ । 

सडकले दुई जिल्लाको सीमामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा र स्वर्गाश्रमलाई समेत एकआपसमा जोड्नेछ । सडक नहुँदा पर्यटक तथा छिमेकी गाउँका बासिन्दा हिँडेरै ओहोरदोहोर गर्न बाध्य थिए ।

काठेखोला गाउँपालिका–३ धम्जाको ओखले र बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रमसम्म भने यसअघि नै सडक पुगेको छ । बीचको करीब ६ किमि दूरीमा यसै आर्थिक वर्षभित्र मार्ग खोल्ने योजना छ । 

काठेखोला गाउँपालिकाको गौरवको योजनामा परेको उक्त सडकमा यो वर्ष २० लाख बजेट छ । ओखलेदेखि अघि दुई किमिमा मार्ग खुलिसकेको सडक निर्माण समितिले जनाएको छ । समितिका अध्यक्ष प्रेम श्रीसका अनुसार म्याग्दी, भकिम्लीतर्फबाट पनि मार्ग खोल्ने काम शुरु भएको छ ।

“दुवै तर्फबाट डोजर लगाएर काम भइरहेको छ”, अध्यक्ष श्रीसले भने, “बजेट अपुग नभएमा एक महीनाभित्रै मार्ग खोल्ने काम सकिन्छ ।” 

स्वर्गाश्रमबाट तीन किमि र ओखलेदेखि तीन किमि मार्ग खुलेमा सीमास्थल देउरालीमा सडक जोडिनेछ । बेनीबाट स्वर्गाश्रम क्षेत्रको विकासका लागि छुट्टिएको सात लाख बजेट सोही सडकमा खर्च गरिने भएको छ । 

“दुवै जिल्लाको लागि यो सडक महत्वपूर्ण छ”, भकिम्लीका वडाध्यक्ष पदम पुनले भने, “बेलढुङ्गा र स्वर्गाश्रमको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ ।” सडकले दुवै जिल्लाबीचको आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्ध र गतिविधिमा समेत सहजता थपिने विश्वास गरिएको छ । धम्जा र भकिम्लीबीच पुस्तौँदेखिको छिमेकी साइनो कायम छ । 

बिहेबारीदेखि दुवै गाउँबीच संस्कृति, वस्तु तथा उत्पादनको समेत आदानप्रदान हुँदै आएको छ ।

पहिलापहिले पश्चिम बागलुङदेखि म्याग्दी हुँदै मुस्ताङ जाने पैदल मार्ग पनि यही ठाउँमा थियो । पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा म्याग्दी सदरमुकाम बेनी बजारदेखि १८ किमि र बागलुङ सदरमुकामदेखि ३५ किमिको दूरीमा अवस्थित छ । समुन्द्री सतहदेखि दुई हजार ७ सय मिटरको उचाइमा रहेको बेलढुङ्गा प्राकृतिक दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ का रुपमा समेत परिचित छ । 

बेलढुङ्गाबाट दर्जनौँ हिमशृङ्खलासँगै बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा र गुल्मीका मनोरम भूभागको अवलोकन गर्न सकिन्छ । प्राकृतिक र जैविक हिसाबले समेत महत्वपूर्ण बेलढुङ्गा क्षेत्रमा बहुमल्य जडिबुटी पाइनुका साथै जङ्गली जनावरको बासस्थान छ । 

बेलढुङ्गादेखि तल आधा घण्टाको पैदल दूरीमा रहेको स्वर्गाश्रम पनि त्यसक्षेत्रको धार्मिक र सांस्कृतिक महत्व बोकेको ठाउँ हो । प्राकृतिक हिसाबले सौन्दर्यपूर्ण स्वर्गाश्रम तपस्यास्थलका रुपमा चिनिन्छ । 

बेलढुङ्गा, स्वर्गाश्रमसँगै आसपासका गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन सडक सञ्जालले टेवा पु¥याउने धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले बताए । उनले सडकसँगै पदमार्ग र अन्य पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिए ।

हालैमात्र बेलढुङ्गालाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्न अन्तर जिल्ला सहकार्य अघि बढाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?