काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले भोगाधिकार पाएको जग्गा बाँसबारी क्लबले मनाेमानी ढंगबाट युलेन्स स्कुललाई वार्षिक १५ लाख रुपैयाँ भाडामा दिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०५८ साल मंसिर १५ गते अस्पताललाई भोगाधिकार उपलब्ध गराएको जग्गामाथि क्लबले मनोमानी तरिकाबाट युलियन्स स्कुललाई १५ लाख रुपैयाँ भाडामा दिएको पाइएको हो ।
अस्पतालको दक्षिण भागमा रहेको ९ रोपनी १४ आना (झण्डै १० रोपनी) जग्गामा क्लबको भवन बनेको छ । उक्त भवनकै अगाडि पाकिस्तान राजदूतावासले बनाइदिएको खुला जिमखानासमेत छ । क्लबले जिमखाना बनाउँदा होस् या स्कुललाई भाडामा दिँदा न अस्पतालसँग अनुमति लियो न त सोधखोज नै गर्यो । क्लबले मनोमानी ढंगबाट युलेन्स स्कुललाई खेलमैदानको रुपमा प्रयोग गर्नका लागि उक्त जग्गा वार्षिक १५ लाख रुपैयाँमा सम्झौता गरेको पाइएको हो ।
साबिक काठमाडौं महानगर–२२ हाल ३ नम्बर वडामा रहेको उक्त जग्गाको कित्ता नम्बर ४३० को जग्गामा क्लबले लामो समयदेखि रजगज गर्दै आएको खुलेको छ । क्लबको भवनसँगै उक्त जग्गामा फुटबल ग्राउण्डसमेत रहेको छ । सरकारी जग्गामा बनेको क्लबको भवनमा ‘युलेन्स स्कुल काठमाडौं प्लेग्राउण्ड’ लेखिएको बोर्डसमेत टाँसिएको छ । त्यही सरकारी जग्गाको खेल मैदानलाई देखाएर युलेन्सले विद्यार्थी तथा अभिभावकको ध्यान खिचिरहेको छ ।
यहाँ अचम्म त के छ भने काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापा नै बाँसबारी क्लबका अध्यक्ष हुन् । उनकै पहलमा क्लबले युलेन्स स्कुललाई भाडामा जग्गा दिएको हो । जसलाई अध्यक्ष स्वयम्ले लोकपथसँगको कुराकानीका क्रममा स्वीकार गरेका छन् । सरकारी जग्गाको दुरुपयोग गरेर किन निजी स्कुललाई भाडामा दिनुभयो ? भन्ने लोकपथको प्रश्नमा थापा भन्छन्, ‘युलेन्स स्कुलले क्लबलाई आर्थिक सहयोग गर्ने सहमति अनुसार हामीले उक्त जग्गा स्कुललाई भाडामा दिएका हौँ ।’
क्लबले स्कुललाई सरकारी जग्गा वार्षिक १५ लाख रुपैयाँमा दिएको चर्चा छ नि ? लोकपथको यो प्रश्नमा उनी सुरुमा अलि अकमक्क पर्छन् । अनि भन्छन्, ‘हो उहाँहरुले दुई चरणमा १५ लाख रुपैयाँमा दिने सहमति भएको छ । यसले बाँसबारी क्लबबाट शहीद स्मारक बी डिभिजनको खेल खेल्न खेलाडीहरुलाई सहयोग पुग्छ भन्ने विश्वास लिएका छौँ ।’
शुरुमा सम्झौता भएको भन्न समेत अनकनाएका थापाले कुराकानीकै क्रममा भर्खरै सम्झौता भएर पहिलो चरणको रकम लिइसकेको समेत बताए । ‘हामीलाई पहिलो चरणको रकम प्राप्त भइसकेको छ,’ उनले भने, ‘दोस्रो चरणको भुक्तानीका लागि हामीले प्रक्रिया अघि बढाएका छौँ ।’ अध्यक्ष थापाले स्कुलसँग गत जेठमा सम्झौता भएकोसमेत बताएका छन् । यतिमात्र होइन उक्त मैदान प्रयोग गर्न दिएबापत क्लबले वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी गरिरहेको थापाले बताए ।
त्यसैले यहाँ बाँसबारी क्लबको स्वार्थ सतहमै देखिन्छ । तर, अध्यक्ष थापा भने विगतमा पनि उक्त मैदान अन्य स्कुल तथा कलेजलाई प्रयोग गर्न दिएकाले युलेन्सलाई पनि सोही अनुसार दिएको बताउँछन् । ‘हामीले विगतमा पनि अन्य स्कुल तथा कलेजलाई उक्त मैदान प्रयोग गर्न दिएका थियौँ,’ उनले भने, ‘युलेन्सले क्लब र खेलाडीलाई सहयोग गर्छौँ भनेपछि क्लबको कार्यसमिति र स्थानीय टोलबासीसँग छलफल गरेर दिएका हौँ ।’
बाँसबारी क्लबको नियमित आम्दानी नभएको बताउँदै थापा अघि भन्छन्, ‘ शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिन र टिक्न मात्रै पनि हामीलाई ६०/७० लाख रुपैयाँ लाग्छ । हामीलाई आर्थिक हिसाबले टेवा पुग्छ भनेर हामीले भाडामा दिएका हौँ ।’
त्यसैगरी, काठमाडौं महागरपालिकाको एक वडा एक खेल मैदान योजनाअन्तर्गत त्यही मैदानमा १ करोड रुपैयाँ बजेटसमेत विनियोजन भइसकेको अध्यक्ष थापाले बताए । त्यस्तै, सरकारी जग्गामा बनेको क्लबको भवन निर्माणका लागि बागमती प्रदेश सरकारले समेत २२ लाख रुपैयाँ सहयोग गरेको उनले बताए ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) सरकारी सम्पत्तिमाथि बनेका अनधिकृत संरचना हटाउनेभन्दै खोला उतार्नेदेखि बनेका संरचना भत्काउने अभियानमा जुटेका छन् । यता महानगरकै वडाध्यक्षले भने सरकारी सम्पत्तिको संरक्षण गर्नुको साटो उल्टै उक्त जग्गालाई कमाइ खाने भाँडो बनाइरहेको देखिन्छ ।
अब महानगरपालिकाले के कदम चाल्ला त ? काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे कुनै पनि सार्वजनिक जग्गा व्यक्ति तथा संस्थाले नियन्त्रणमा लिएर भाडामा दिन नपाउने बताउँछन् । यदि त्यसो भएको पाइएमा कानुनअनुसार महानगरले कारवाही गर्ने उनले बताए । ‘अब हामी त्यहाँ के भएको रहेछ, कसरी सम्झौता भएको रहेछ त्यो बुझ्छौँ,’ उनले भने, ‘सार्वजनिक जग्गा कुनै पनि व्यक्ति वा संस्थाले नियन्त्रणमा लिएर अर्को पक्षलाई भाडामा लगाउन पाइँदैन यदि त्यसो भएको रहेछ भने हामी कारवाही प्रक्रिया अघि बढाउँछौँ ।’
गंगालाल अस्पतालका चिकित्सक र कर्मचारीले बुझाए बालेनलाई पत्र
यसरी मनोमानी ढंगबाट क्लबले अस्पतालको जग्गा निजी स्कुललाई भाडामा दिएको थाहा पाएपछि गंगालाल अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले काठमाडौं महानगरपालिकालाई भोगाधिकार कायम गरिदिन अनुरोध गर्दै गत साउन ३१ गते निवेदन लेखेका थिए । गंगालाललाई भोगाधिकार कायम गरी दिएको जमिनमा बाँसबारीका टोले गुण्डाहरुले राजनीतिक दलको संरक्षणमा बलजफती बाँसबारी युवा क्लबको स्थापना गरी सरकारी जग्गा कब्जा गरेको अस्पतालका कर्मचारी तथा चिकित्सकहरुले आरोप लगाएका छन् । ‘जुन जमिनलाई संरक्षण गर्नका लागि अस्पतालका तत्कालीन निर्देशक भगवान कोइरालाले धेरै संघर्ष गरेर पर्खाल लगाउनुभएको थियो,’ महानगरमा बुझाइएको निवेदनमा भनिएको छ, ‘डा. कोइराला दिउँसो पर्खाल लगाउनुहुन्थ्यो राती सबै पर्खाल भत्काइएको हुन्थ्यो ।’
यसरी संरक्षण गरिएको जमिनलाई अस्पताल र सरकारको सहमति बिना नै क्बलले युलेन्स स्कुललाई भाडामा लगाएको आरोप कर्मचारीहरुको छ । त्यतिमात्र होइन अस्पतालमा बिरामीको मृत्यु भएपछि शब र अस्पतालजन्य फोहोर बाहिर निकाल्न टोले गुण्डाहरुले अस्पताल प्रशासनका कर्मचारीहरुलाई भौतिक आक्रमणको धम्की दिने गरेको महानगरलाई बुझाइएको निवेदनमा उल्लेख छ । उक्त भौतिक आक्रमणका धम्कीका कारण अस्पताल प्रशासन र कार्यकारी प्रमुख मुकदर्शक बन्न बाध्य भएको उनीहरुको गुनासो रहेको छ ।
डा. भगवान कोइराला पनि आफूले जग्गाको संरक्षण गर्नका लागि त्यतिबेला पर्खाल लगाउने काम गरेको बताउँछन् । ‘त्यतिबेला गंगालालले भोगाधिकार पाएका जग्गा संरक्षण गर्न मैले ठूलो संघर्ष गरेको थिएँ,’ लोकपथसँगको कुराकानीका क्रममा डा. कोइरालाले भने, ‘म अस्पतालको नेतृत्वमा रहँदासम्म बाँसबारी क्लब एउटा सानो टहरामा थियो अहिले के भइरहेको छ मलाई जानकारी भएन ।’
यसबारेमा थप जानकारी दिन लोकपथले गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई पटक–पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया