बन्दको प्रभावले छोएन पूर्वराजालाई, सीके राउतको चर्चा सेलायो, विप्लव ‘हाइलाइट’मा

जनकपुरधाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यका बाहेक देशका विभिन्न जिल्लामा परेको छ । 

तर, हिजोबाट तराई–मधेश दौडाहमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बन्दले खासै प्रभाव पारेन ।

बुधवार राति ७ः४५ बजे प्रदेश २ को राजधानी जनकपुर पुगेका उनलाई जनकपुरमा भव्य स्वागत गरियो । फूलका मालासहित जनकपुर एयरपोर्ट पुगेका उनका समर्थकहरुले शाहलाई स्वागत गरेका थिए ।

जब एयरपोर्टमा पूर्वराजा ओर्लिए तब उनका समर्थहरुले ‘राजा ल्याऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाउँदै उनलाई स्वागत गरेका थिए ।  
जनकपुरमा उनी होटेल सिताशरणमा बसेका छन् । 

यहाँबाटै सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने पूर्वराजा शाह जनकपुरमा तीन रात बस्ने भएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र जनकपुर आउँदा स्वागतमा उनका समर्थक, शिव सेनाका प्रतिनिधि, साधु–सन्त, हिन्दू धर्मका अनुयायीसहित भेला भएका थिए भने स्वागत गर्ने लाइनमा मुस्लिम समुदायका व्यक्तिहरुपनि देखिएका थिए । 

पूर्वराजा शाहको स्वागतमा ढल्केबर, महेन्द्रनगरबाट जनकपुर प्रदेश गर्ने ठाउँ–ठाउँमा उनको जयजयकासहतिको ब्यानर तथा होर्डिङबोर्डले सजाइएको थियो । यसैबीच जनकपुरधाम शहरभित्र पनि ठाउँ–ठाउँमा पूर्वराजाको स्वागतमा ब्यानर टाँगिएको छ । 

आज सर्लाहीका विभिन्न स्थानमा पुग्ने पूर्वराजा शुक्रवार उदयपुर जाँदै छन् । 

शुक्रवार दिउँसो ४ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै शनिवार पूर्वराजा शाह सप्तरीको छिन्नमस्ता शक्तिपीठमा गएर पूजापाठ गर्ने कार्यक्रम तय भएको उनका सहयोगीले बताए । 

पूर्वराजाको यो यात्रा धार्मिक यात्रा भएको उनी निकटका व्यक्तिहरुले बताएका छन् ।

यसैबीच यही फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरेर एकाएक चर्चामा आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतको भने चर्चा सेलाएको छ । 

सरकारसँग सहमति गरेको दुई दिनपछि जनकपुर पुगेका राउतको चर्चा क्रमिक रुपमा सेलाउँदै गएको छ । 

जनकपुर पुगेका उनलाई बुलेट प्रुफ ज्याकेट, कालो चश्मा र माक्स लगाएका  अनुहार छोपेका कार्यकर्ताले फ्रि मधेश लेखिएको झण फहराउँदै स्वागत गरेका थिए । 

काठमाडौंको राष्ट्रियसभागृहमा राजनीतिक घोषणा कार्यक्रममार्फत मूलधारको राजनीतिमा आएका सीके राउतका कार्यकताले गरेको यस्तो क्रियाकलापले राजनीतिक क्षेत्रमा एक प्रकारले तरंगित नै बनायो । 

यसबीच सीके राउत र उनका कार्यकर्ताको चैतर्फी विरोध समेत भयो । अहिले राउत जनकपुरको बाल्वाटोलस्थित आफ्नै निवासमा बसिरहेका छन् । राउत हाल कुनै पनि सार्वजनिक कार्यक्रममा वा भेटघाटमा सामेल भएका देखिएको छैन । उनका समर्थहरुका अनुसार लामो समय परिवारबाट टाढा भएका राउत यतीबेला पारिवारिक भेटघाटमा व्यस्त छन् । 

यसैगरी अहिले आम सञ्चारमाध्यमहरुमा विप्लवको चर्चा परिचर्चा शुरु भएको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले गत मंगलवार आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएको थियो ।  बैठकले ‘विप्लव’लाई प्रतिबन्ध लगाउने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै आफूहरुलाई प्रतिबन्ध लगाएको निर्णयको विरोधमा विप्लव समूह सडकमा उत्रने चेतावनी सरकारलाई दिँदै आएको थियो । 

जस अन्तर्गत आज नेपाल बन्दको आह्वान गरी सार्वजनिक स्थल र चोकमा बम तथा शंकास्पद वस्तु राखि त्रास फैलाइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?