सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य गरेको छैन : मन्त्री पण्डित

जनकपुरधाम । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सीके राउतसँग गरेको सहमति संविधानको मर्म र भावनाअनुसार नै रहको बताएका छन् । 

बिहीवार जनाकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 

उनले भने, ‘राउतसँग सहमति पत्रमा उल्लेख गरिएको तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमत आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने भनिएको वाक्य जनमत सङग्रहमा जाने सहमति होइन, जनअभिमतको आशय निर्वाचन हो ।’ 

सहमति पत्रका हस्ताक्षरकर्ता र कार्यकर्ताले सहमतिको पूर्णपालन नगरेमा सरकारले एक्सन लिने बताउँदै मन्त्री पण्डितले संविधान विरोधी गतिविधि सह्य नहुने धारणा राखे । एक प्रश्नको जवाफमा मन्त्री पण्डितले सरकारले विप्लवसँग युद्ध निमत्याउने कार्य नगरेको स्पष्ट गर्दै मूलधारमा आउन ढोका खोलेको छ भने ।  

उनले वार्तामा आउनका लागि सधैँ ढोका खुल्ला छ भन्दै सरकारले सबैलाई मूलधारमा ल्याउन चाहेको बताए । मन्त्री पण्डितले १५ दिनभित्र समायोजनका सम्पूर्ण कार्य सम्पन्न हुने बताउँदै लोकसेवा आयोगले कर्मचारीको अभावलाई पूरा गर्न १५ देखि २० हजार नयाँ भर्नाका लागि विज्ञापनको तयारी गरिरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?