काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो दुई महिनामा दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको प्रतिवेदन अनुसार चालु आवको दुई महिनामा रेमिट्यान्स रकम २२ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव सात प्रतिशतले वृद्धि भई एक अर्ब ७३ करोड रुपैंयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह ११ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले कमी आई ७४ हजार चार सय ५५ कायम भएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८ दशमलव तीन प्रतिशतले कमी आई ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो ।
प्रतिवेदन अनुसार चालु आवको पछिल्लो दुई महिनामा खुद ट्रान्सफर २१ दशमलव नौं प्रतिशतले वृद्धि भई दुई खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया