राप्रपाको पन्ध्रदिने राष्ट्रिय स्वाभिमान अभियान आज सकिँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्र आज सकिँदैछ । 

गत फागुन १५ गते ताप्लेजुङको पाथिभारबाट शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा आज (शुक्रवार) राजधानी काठमाडौंमा विशेष सभामामार्फत अभियान समापनको घोषणा गर्ने भएका हुन् । 

भृकुटीमण्डममा १२ः१५ बजे हुने सभालाई पार्टी अध्यक्ष कमल थापा, संगठन विभाग प्रमुख राजेन्द्र लिङदेन, दिपक बोहोरा, बुद्धिमान तामाङ लगायतका शीर्ष नेताले सम्बोधन गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय स्वाभिमान मेची–महाकाली यात्राका क्रममा पार्टीले ३६ जिल्लामा १ सय ५२ वटा सभा गरेको थियो ।

दुई हजार ८ सय १० किलोमिटरको यात्रा पश्चात मुलुकलाई हिन्दु राष्ट्र पुर्नस्थापनाको एजेण्डामा व्यापक जन समर्थन जुटाएको दाबी राप्रपाको छ । 

राजसंस्थासहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको मागसहित राप्रपाले राष्ट्रिय स्वाभिमान अभियान शुरु गरेको थियो ।

यसैगरी राप्रपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम पनि चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?