भारत–पाकिस्तानबीच आणविक युद्ध भइहाले हुनेछ यस्तो क्षति

एजेन्सी । हाल भारत र पाकिस्तानबीचको सम्बन्ध एकदम चिसो बनेको छ । 

भारत र पाकिस्तान दुवै आणविक अस्त्र सम्पन्न राष्ट्र हुन् । यसले गर्दा दुई देशबीच विवाद सिर्जना हुदाँ त्यो युद्धमा बदलिने हो कि भनेर विश्वको ध्यान हुने गर्छ ।  

पाकिस्तान र भारतबीच पूर्ण स्तरको युद्ध भएमा रणनीतिक प्रयोजनको लागि आणविक हतियार प्रयोग हुन्छ नै । 

युद्धको अवस्थामा राष्ट्रले आफूसँगको सबै आणविक अस्त्र प्रयोगमा ल्याइहाल्दैनन् । युद्ध भइहालेमा भारत र पाकिस्तानले अधिकतम १०० आणविक ‘वारहेड’(मिसाइलमा जोड्न सकिने आणविक हतियार) प्रयोग गर्न सक्छन् । यो उनीहरुसँग रहेको कुल संख्याको लगभग आधा हो । 

विभिन्न संस्थाहरुले भारत र पाकिस्तानबीच आणविक युद्ध भएको अवस्थामा त्यसले पार्ने संभावित असरबारेमा अध्ययन विश्लेषण गरेका छन् ।  

सन् २००७ मा तीन अमेरिकी विश्वविद्यालयका अनुसन्धानदाताहरुले भारत–पाकिस्तानबीच आणविक युद्ध भएमा त्यसले निम्त्याउने मानव संहारको प्रक्षेपण गरेका थिए । 

रुट्गर्स विश्वविद्यालय, युनिभर्सिटी अफ कोलोराडो–बोल्डर र युनिभर्सिटी आफ क्यालिफोर्निया–लस एन्जल्सका अनुसन्धानदाताहरु सहभागि उक्त अनुसन्धानले युद्धको विकराल चित्र प्रस्तुत गरेको छ । 

अनुसन्धानले दक्षिण एशियाका दुई शक्तिबीच आणविक युद्ध भएको अवस्थामा पहिलो हप्तामा विष्फोटको प्रत्यक्ष प्रभावले, वरिपरि रहेकाहरु बमको तापले जलेर र खतरनाक विकिरणका कारण २.१ करोड मानिसहरुको मृत्यु हुनेछ । यो संख्या दोस्रो विश्वयुद्धमा मारिएका कुल संख्याको आधा हो । 

आणविक बमको असर बम पड्केको क्षेत्रका मानिसहरुमा मात्रै सिमित हुदैंन । विस्फोटस्थल भन्दा हजारौं किमी टाढाका मानिसहरु पनि यसबाट प्रभावित हुन्छन् । 

माथि उल्लेखित परिणामको आणविक हतियारको प्रयोग भएमा पृथ्वीलाई हानिकारण विकिरणबाट सुरक्षा दिइरहेको ‘ओजोन तह’को आधा हिस्सा नष्ट हुनेछ । 

त्यस अतिरिक्त अर्को खतरनाक असर विश्वले भोग्नेछ । ठूलो स्तरको आणविक विस्फोटपछि ठूलो परिणामको धुलो वायुमण्डलमा पुग्नेछ । यसले सुर्यको प्रकाशको ठूलो मात्रालाई पृथ्वीको सतहमा आउन दिदैन । १–२ वर्षसम्म रहने यो अवस्थालाई ‘न्यूक्लियर विन्टर’ भनिन्छ ।

सन् २०१३ मा ‘इन्टरनेशन फिजिसियन फर द प्रिभेन्सन अफ न्यूक्लिअर वार’ले यसले पार्ने असरबारे एक विश्लेषण सार्वजनिक गरेको थियो । विश्लेषण अनुसार यो क्षेत्रमा आणविक युद्ध भएमा त्यसले निम्त्याउने ‘न्यूक्लीयर विन्टर’बाट विश्वभरीका २ अर्ब मासिनहरु प्रभावित हुने छन् ।

‘न्यूक्लियर विन्टर’ले मौसममा व्यापक फेरबदल ल्याउछँ । विशेष सुर्यको प्रकाशमा कमी हुदाँ विश्वव्यापी तापक्रमनै कम हुनेछ । अचानकको तामक्रमको फेरबदलले गर्दा विश्व कृषि उत्पादनमा असर पर्नेछ । 

तापक्रम अचानकको बदलावमा अनुकुलन हुन नसक्दा विश्वव्यापी कृषि उत्पादनमा ठूलो ¥हास आउनेछ । यसले स्वत त्यही स्तरको विशाल खाद्यान्न अभाव निम्त्याउनेछ । 

परिणामत भोकमरी बढ्नेछ भने खाद्यान्नका लागि ठूला ठूला हुलदंगाको स्थिति सिर्जना हुने विश्लेषकहरुले बताएका छन् । 

विश्वव्यापी निशस्त्रीकरणको वकालत गर्ने वैज्ञानिकहरुको संस्था ‘बुलेटिन अफ द एटोमिक साइन्टिस’ दिएको रिपोर्ट अनुसार सन् २०१५ सम्म पाकिस्तानसँग ११० देखि ११८ आणविक वारहेड थिए । सन् २०११ मा यो संख्या ९० देखि ११० बताइएको थियो । 

भारतसँग भने ११० देखि १२० आणविक वारहेड छ । संख्यामा कम भए पनि भारतका आणविक वारहेड धेरै टाढा सम्म मार हान्ने प्रकृतिका रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?