म काठमाडौंमा नै जन्मिएको हुँ । तर, सानो उमेरमा दसैँको बेला गाउँ जाँदा धेरै रमाइलो हुन्थ्यो । सबै जनासँग भेट हुन्थ्यो, सबै जना बसेर रमाइलो गरेका कुराहरुको धेरै याद आउँछ । हाम्रो परिवार ठूलो छ । हाम्रो बाबाको तीन दिदिबहिनी र सात दाजुभाइ हुनुहुन्थ्यो ।
मेरो हजुरबुबा चरिकोटको तत्कालिन प्रधानपञ्च हुनुहुन्थ्यो । म गाउँमा जाँदा प्रधानपञ्चको कान्छी नातिनी भनेर सबैले माया गर्नुहुन्थ्यो । हजुरबुबा र हजुरआमाको काखमा दसैँ मनाउँदाको रमाइलो नै छुट्टै हुन्थ्यो ।
म सानो बेला काठमाडौंबाट दसैँ मनाउन गाउँ जान्थ्यौँ, चकलेट लगेर गाउँभरिका मान्छेहरुलाई बाँडेर खाइन्थ्यो त्यो कुराको बढी याद आउँछ ।
नयाँ लुगा लगाउनु, लिङ्गे पिङ खेल्नुको मज्जा बेग्लै थियो । मैले सानै बेलामा लेहेङ्गा लगाएको एउटा प्रसंगको याद आउँछ । मैले लेहेङ्गा लगाउँदा दिदिले के लटरपटर लुगा लगाएको भनेर जिस्काउँदा म रोएको थिएँ ।
हुन त परिवारले मलाई सधैँ कान्छी भएर पनि होला धेरै माया गर्नुभयो । त्यो बेला बाबाआमा हजुरबुबा हजुरआमाको निस्वार्थ माया, सबैको कान्छी छोरी भएर सबैको माया पाउथेँ । बाल्यकालमा मलाई कुमारीले लगाको जस्तो टिका गलाइदिएन भने म रुने गरेको थिएँ ।
गाउँभरी टिका लगाउँदा हिँडेको र कसको घरमा कति पैसा दिनुभयो भनेर हेर्ने गथ्र्यौँ । त्यो कुराको बहुुत याद अहिले पनि आउँछ । तर बच्चा बेलाको जस्तो दसैँको रौनक अहिले छैन ।
दसैँ मनाउने नाममा पछिल्लो समय केही विकृतीहरु पनि फैलिएको देखिन्छ । तर हामीले चाडवाड मनाइरहँदा आफ्नो धर्म संस्कृती र भाषाको पनि संरक्षण गर्नुपर्ने हुन्छ ।
हामी सधैँ गाउँमै गएर दसैँ मनाउँथ्र्यौँ । गाउँमा धेरै पैसा पनि नचाहिने, थोरै पैसाले पनि आवश्यक्ता पूरा हुन्थ्यो । साथसाथै पैसाको महत्व पनि थियो । अहिले त गाउँमा भूकम्पले घरहरु पनि भत्कायो । भूकम्प जानु भन्दा अघि नै हजुरबा हजुरआमा पनि बित्नुभयो, त्यहि भएर पनि अहिलेको दसैँ खल्लो हुन्छ । गाउँमा आफ्नो घर हुँदा मात्र गाउँ जाँउजाँउ जस्तो लाग्ने रहेछ । गाउँमा घर नहुँदा जान मन पनि नलाग्ने हुने रहेछ ।
म आठ वर्षपछि गाउँ गएको थिएँ, पहिलाको भन्दा धेरै फरक पाएँ । त्यसमाथि पनि हजुरबुबा हजुरआमा हुँदाको गाउँ नै अर्कै हुँदो रहेछ । अहिले पनि दसैँ नजिकिएको छ । तर देश छाडेर विदेशीनेहरुको संख्या ठूलो छ । जसको कारण पनि मनमा कता कता नरमाइलो हुने रहेछ । सबै नेपालीहरु चाडपर्वको बेला पनि आफ्ना परिवारसँग बस्न नपाउँदाको कुरा सम्झिँदा दुख लाग्छ । यो सबै हाम्रो राजनीतिले गरेको हो । जसको कारण नव दुर्गा भवानीले सरकारमा रहेका र सरकार सम्हाल्न जिम्मा लिएको सम्पुर्णलाई सद्बुद्धि पलावस् । साथै देशको स्थिति हेरेर उहाँहरुले आफ्नो काम निपुर्णताको साथ गर्न भगवानले सद्बुद्धि दिउँन भन्न चाहान्छु । साथै सबैलाई ह्याप्पी दसैँ ।
हेर्नुहोस् भिडियो :
(लोकपथका लागि महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया