दीपाश्रीको दशैँ अनुभव : दसैँमा १०० रुपैयाँ दक्षिणा पाउँदा युद्ध जितेजस्तो हुन्थ्यो (भिडियोसहित)

दशैँ भन्ने बित्तिकै बाल्यकालको बढी याद आउँछ । बाल्यकालको दशैँ चाँही किन स्पेसल हुन्थ्यो भने, त्यतिखेर सबै टेन्सन बुबा आमालाई हुन्थ्यो । त्यतिबेला देखि नै कपडा किन्नुपर्यो, जुत्ता किन्नु पर्यो भनेर झगडा गरिन्थ्यो । दराज खोली खोली साथी भाइहरुलाई लुगा देखाउने, जुत्ता देखाउने चलन थियो । साथीसंघीहरु धेरै थिए । विराटनगरमा धेरै साथीहरु हुन्थे । तर अहिलेको दशैँचाँही जिम्मेवारीको दशैँ, सबैकुराहरु पुर्याउन पर्ने, टार्नुुपर्ने हुन्छ । त्यसकारण पहिलाको दशैँ र अहिलेको दशैँमा धेरै फरक छ । पहिले केही पनि टेन्सन हुँदैनथ्यो । अहिले टेन्सन भएता पनि जिम्मेवारीबोध पनि गर्न पाइएको छ भन्ने कुराले केही आनन्द दिन्छ ।

दशैँ आर्शिवादको चाड हो । विजया दशमीको आर्शिवाद लिएर काठमाडौं आएर उर्जावान भएर काम गर्न पाइन्छ । अग्रजहरुले दिएको आशिर्वाद चाँही लाग्छ जस्तो लाग्छ र टिका लगाउँदा भनिने मन्त्रले चाँही हामीलाई परिपूर्ण गरे जस्तो लाग्छ । सानो बेलामा लोभ नै दक्षिणाको हुन्थ्यो । के आर्शिवाद भन्ने लाग्थ्यो । नयाँ लुगा लगाउने अनि पैसा धेरै दिए हुन्थ्यो भन्ने लाग्थ्यो । बुबा आमाको हामी धेरै सन्तान थियौँ । त्यही भएर सबै जना टिका लगाउँन बस्दा पैसा चाँही कहाँ राख्नुभएको छ बुबाले भन्ने लाग्थ्यो ।

एकपटक हामी दशैँमा मामाघर राजावास, सैनिक टोल गएका थियौँ । अहिले त्यहाँ पुग्न सहज छ तर त्यस बेला चाँही आमा बुबासँग गाडीमा खचाखच गरेर पुगिन्थ्यो । र मामाघर पुगेर कतिबेला मामाले टिका लगाएर कति पैसा दिनुहुन्छ भन्ने लाग्थ्यो । ठूलो मामाले कति पैसा दिनुहुन्छ र सानो मामाले कति पैसा दिनुहुन्छ भन्ने गन्नकै हतारो हुन्थ्यो । एकपटक चाँही मामाले आयुुन द्रोह सुते, मंगलाकाली…. भनेर टिका लगाइदिनुभयो अनि पैसा दिने बेलामा हामी साना भएकाले चाँही पाँच रुपैयाँ १० रुपैयाँ छुट्याउनुभएको थिया । तर पैसा थोरै भएको निहुँमा मैले निधारभरी लगाएको टिका सोहोरेर लौजा मामा तैँ ला टिका भन्दै हुत्याइदिएर खेतको आली आली दौडिएको थिएँ । अनि आमाले गाली गर्नुभएको याद छ । आमाले ‘तलाई पैसा लिन आएको हो आर्शिवाद लिन आएको हो’ भन्नुुभएको थियो । म अलि नबुझ्ने बेला भएकाले मलाई आशिर्वाद चाहिँदैन पैसा चाहिन्छ भनेर रोएको थिएँ । बच्चा बेलाको बुद्धि नै त्यस्तै थियो । ती गरिएको कुराहरुको याद आउँछ । अहिले मामाहरु सरेर इटहरी आउनुभएको छ । अहिले पनि कान्छो मामाले भान्जी फेरि यसपाली पनि अक्षता निकाल्ने हो की, मामासँग त धेरै छैन नि पैसा भनेर जिस्काउनु हुन्छ । मामा म अहिले बुझ्ने भैसके पैसा होइन आशिर्वाद पो चाहिने रहेछ, हजुरहरुकै आशिर्वादले अहिले म कलाकारितामा ३० वर्षदेखि काम गर्न पाइरहेको छु पैसा केही रहेनछ हातको मैलो भनेर म भन्ने गरेको छु ।

काठमाडौं आएर संघर्ष गरेपछि पैसा भन्दा आशिर्वाद लिनुपर्ने रहेछ भनेर थाहा पाएँ । १६–१७ वर्षको उमेरमा म काठमाडौंमा आएँ । त्यतिबेला संघर्षको दिनमा म कलाकारितामा जम्नका लागि कसैले आशिर्वाद दिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला मलाई पैसा भन्दा पनि आशिर्वाद भए पैसा त आइहाल्छ भन्ने महसुस भयो ।

सबै दशैँहरु प्राय रमाइलो नै हुन्थ्यो । तर केही दशैँहरु दुखका पनि छन् । २०४७ सालमा आमा बित्नुभयो । त्यो बेला आमा बितेपछि अर्को वर्ष हामीले टिका लगाएनौँ । त्यतिबेला बल्ल मलाई लाग्यो, आमालाई कति दुख दिइयो होला आमालाई, यो किन्दे त्यो किन्दे भन्थ्यौँ होला भन्ने फिल भयो । प्रत्येक वर्ष आमालाई सम्झिन्छौँ, बुुबा हुनुहुन्छ उहाँको हातबाट टिका नलगाइ दशैँ आएजस्तो लाग्दैन । एकपटकको संघर्षको दिन सम्झिन्छु, विराटनगर जानुपर्ने थियो, त्यो बेलामा बुुबाले विराटनगरमा बोलाउनुभयो, तर मैले काम छ भनेर ढाँटे । म सँग त्यहाँसम्म जाने पैसा नै नभएर दशैँ मनाउन नै गइन । यहाँ रुँदै बसेँ । यही साइतमा टिका लगाइरहेका होलान् भनेर म सम्झिँदै बसेँ । तर पछि बुुबाले थाहा पाउनुभयो, छोरीले पैसा नभएर चाँही टिका लगाउन नआएको भनेर, त्यो बेला बुुबाले धेरै गाली गर्नुभयो । उहाँले पैसा मागेको थिएँ भनेर । अनि अहिले जसरी पनि दशैँको टिका लगाउन आइजो भन्नुहुुन्छ । त्यो मात्र होइन काठमाडौंमा एक्लै दशैँ बिताएका दिनहरु । काठमाडौंको भाडाको घरमा अरुले टिका लगाउनुहुन्थ्यो । तर म चाँही विभिन्न बहाना बनाएर टारिदिन्थे । आफ्नो दुख अरुलाई किन देखाउनुु जस्तो लाग्थ्यो । दुख आफूसँग नै राख्नुपर्छ भन्ने लाग्छ । त्यस्ता घटनाहरु थियो ।
आमा हुँदाको दशैँ र नहुँदाको दशैँमा आकाश जमिनको फरक हुँदो रहेछ । त्यसलाई कहाँ बिर्सिन सकिँदो रहेछ र । तर बाल्यकालको दशैँ बेग्लै हुँदो रहेछ । प्राय दिमागमा के हुन्थ्यो भने, स्कुल जाने, टिउसन पढ्ने, होमवर्क गर्ने हुन्थ्यो । त्यो मात्रै हुन्थ्यो न त । जब दशैँको बिदा हुन्थ्यो । अनि उमंग नै छुट्टै हुन्थ्यो । जीन्दगी उछलकुद नै हो नी । त्यस बेला अरुको घरमा जाने त्यो घरमा जाने, साथीसंगी बटुल्ने, रमाइलो गर्ने, चटपट खोन, लुुगा किन्ने, फिल्म हेर्न जाने गरिन्थ्यो । र मेरो एकजना साथी थिइन् संगीता भन्ने । हामी फिल्म हेर्न जाँदा प्रत्येक पटक फोटो खिच्नुपथ्र्यो । अनि फोटो खिचिसकेपछि त्यसको पछाडी चाँही यो फिल्म हेरेको, यो मितिमा हेरेको र यो हिरो हिरोइन थियो भन्ने लेख्ने चलन थियो । अहिलेसम्म पनि छ त्यो मेमोरी ।

फिल्मप्रति आकर्षित, एकदमै चन्चलता र डान्स गरिहाल्नुपर्ने, स्कुल बंक गरि गरि नाच्नुजानुुपर्ने थियो । दशैँमा यस्तै यस्तै कुराहरुको याद आउँछ । अनि पूर्णिमाको भोलिपल्ट चाँही सबैको थैली खोलिन्थ्यो । कसको कति भयो भनेर अनि हामीलाई त थोरै दिए भनेर चित्त दुखाइन्थ्यो । त्यो पैसाले पिकनिक जानुपर्छ भनेर आमाबुबासँग फेरि पैसा माग्थ्यौँ । हामी फेरि कुनै घर छुटाउन्नथ्यौँ । आफन्त त जानै पर्छ तर गाउँका सबै घरका जान्थ्यो । त्यतिबेला १०० रुपैयाँ दिएमा युद्द जितेको जस्तो हुन्थ्यो । हामी भान्टाङ भुन्टुङले पाउने भनेको त ५–१० रुपैयाँ पाउने हो ।

हिन्दूहरुको महान पर्व दशैँ आशिर्वादको रुपमा मनाऔँ । अहिले पनि छोरी ज्वाईँलाई आशिर्वादिन दिनुुहोस् आफन्तलाई आशिर्वाद दिनुुहोस् । कोही साकाहारी हुनुहुन्छ, कोही मांसाहारी हुनुहुन्छ भने पनि त्यसैगरी मनाउनुुहोस् । जो जहाँ भए पनि यो चाड मनाउनुुहोस् भन्न चाहान्छु ।

हेर्नुहोस् भिडियो : 

(लोकपथका लागि महेश तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?