राजपाले फोरम सामु राख्यो सरकार छाड्नु पर्ने शर्त

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले एकता प्रक्रिया अगाडी बढाउन सरकार छाड्नु पर्ने एक मात्र शर्त संघीय समाजवादी फोरम नेपाल सामु राखेको छ । 

गत फागुन १५ गते एकताका लागि भन्दै फोरमले राजपालाई पत्र पठाएको थियो । सो पत्रको जवाफ लेख्दै राजपाले वार्ता र एकताका लागि सकारात्मक भएपछि सरकार छाड्नुपर्ने शर्त अघि सारेको सहमहासचिव जेपी यादवले जानकारी दिए ।  

फोरमका महासचिव राम सहाय यादवले राजपाले पठाएको जवाफका आधारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्ने बारे निर्णय गर्ने बताए । 

उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी छ । 

फोरमले एकताका लागि यसअघि नै ५ सदस्यीय कार्यदल गठन गरेको छ । 

सो कार्यदलले पत्रका आधारमा एकताको विषयमा राजपालाई प्रतिक्रिया दिने महासचिव यादवको भनाइ छ । 

टिकापुर घटनाको मुख्य दोषि रेशम चौधरीलाई गत फागुन २३ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साथै राजपाले आफ्नो मागप्रति सरकारले वेवास्ता गरेको भन्दै सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ ।

योसँगै राजपाले फोरमसँग एकताको प्रक्रियालाई तीव्र बनाएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?