दसैँ भन्ने बित्तिकै वर्षातको समयमा खेतिपातीमा व्यस्त भएर एउटा रमाइलो समयमा प्रवेश गर्ने कुराको बढी स्मरण हुन्छ । जब दसैँको माहोल शुरु हुन्छ तब सबैमा रमाइलो अनुभूती हुन्छ ।
गरिब विपन्न परिवारदेखि लिएर धनी सम्पन्न परिवारसम्म पनि दसैँ चाडले एक प्रकारको स्फुर्ती दिन्छ ।
दसैँ तिहार लगायतका चाडपर्वले गाउँमा सबैसँग भेट्ने एउटा माध्यम पनि बनाउँछ । दसैँकै लागि देशविदेशमा रहेका साथीभाइहरु पनि आउने गर्नुहुन्छ त्यसले आत्मियता बढाउन थप मद्धत पुर्याउँछ ।
दसैँ बाल्यकालमै रमाइलो हुन्थ्यो । दसैँका बेला कोतमा जाने, विभिन्न देवी देवता भगवतीको मन्दिरहरु घुम्ने, साथीभाई भेट्ने, पिङ खेल्न गथ्यौँ । म पर्वतको दुर्लुङकोटमा जन्मिएको मान्छे । ३-४ वटा गाउँको साझा माउलो भनिन्थ्यो । त्यसमा विजया दशमीको १० दिनसम्म नियमित पुजाआजा हुन्थ्यो । हामी बिहानै पुजा गर्न नुहाएर सहभागी हुन्थ्यौँ । त्यो बेलाको रमाइलो भविष्यमा अनुभुति गर्न सक्दैनौ त्यो मेरो लागी सधैँ स्मरणयोग्य रहनेछ ।
त्यो बेलामा अहिले जस्तो राम्रो लुगा लगाउँन सकिदैनथ्यो । पाइदैँन थियो पनि । कहिले एउटा नँया लुगा आउछ भनेर बसिरहेका हुन्थ्यौँ नयाँ कपडा लगाएको दिन जस्तो रमाइलो अरु कहिले हुदैनथ्यो ।
गाउँमा ५-७ भाई मिलेर एउटा खसी काटेर खाइन्थ्यो त्यो सम्झिँदा बेग्लै किसिमको अनुभुती हुन्छ ।
दसैँ आउनु भन्दा अगाडी नै कसको घरमा बाबियो हुन्छ, सबैको घरबाट जम्मा गथ्र्यौँ । सबैको घर बाट एउटा एउटा बाँस जम्मा गथ्यौँ । बाबियोबाट पिङ बाट्न आमा हरुलाई जिम्मा लगाइन्थ्यो । त्यस पछि बुबाहरुले पिङ बनाइदिनु हुन्थ्यो ।
तर अहिले गाउँमा त्यो माहोल छैन । धेरै युवायुवतीहरु विदेशमा रहनुभएको छ, जसको कारण पनि अहिले त्यति रमाइलो छैन । अहिले गाउँमै बसेर काम गर्नेहरु छैनन् । हामी गएपछि मात्र गाउँमा अलि रमाइलो भए जस्तो हुन्छ तर पनि पहिलाको तुलनाका अहिले रमाइलो माहोल छैन ।
दसैँको दिन घरमा टिका लगाउँथ्यौँ । आमा बुबाको हातबाट टिका लगाएपछि कतिबेला मामाघर पुगौँ जस्तो हुन्थ्यो । टिकाकै दिन राति हिँडेर मामाघर पुगिन्थ्यो । मामामाइजुहरु भान्जाभान्जी कति बेला आइपुग्छन भनेर कुरेर बस्नु हुन्थ्यो । अनि उहाँहरुले टिका लगाइदिने जमरा लगाइ दिनुहुन्थ्यो । त्यो बेला चाँही कति दक्षिण दिए भनेर लुकेर हेर्ने गथ्र्यौँ । म चाहीँ अन्य भान्जा भान्जी भन्दा अलि मामा माइजुको प्यारो थिएँ । पदम भान्जा कतिबेला आउनुहुन्छ भनेर उहाँहरु भन्नुहुन्थ्यो । म अलि रमाइलो पनि थिएँ त्यही भएर पनि अलि महत्व राख्नुहुन्थ्यो ।
पहिले व्यवहारिक जिम्मेवारी केही हुुँदैनथ्यो । हामी स्वतन्त्र हुन्थ्यौँ । आफ्ना आवश्यक्ता मात्र कसरी पूरा हुन्छ भन्नेमा हाम्रो ध्यान हुन्थ्यो । त्यस कारणले चाडपर्वले बढी उत्साहित बनाउथ्यो । तर अहिले सामाजिक राजनितिक सबै दायित्व छ, त्यसैले पहिलाको जस्तो रमाइलो गर्न सकिदैन ।
दसैँको सन्दर्भमा हाम्रो समाजमा अहिले पनि हुँदा खाने र हुने खाने मान्छेहरुको कित्ताकाट रहेको छ । कसैलाई दसैँ एकदमै खुसी बोकेर आएको हुन्छ त केहि परिवार कसैको घरमा मागेर खान पर्ने अवस्था पनि छ । त्यो देख्दा कता कता मन नरमाइलो हुन्छ । सबैले चाडपर्व बराबर हिसाबले मनाउन पाए बल्ल चाडपर्वको सार्थकता हुन्थ्यो । कसैलाई दसैँ रमाइलो र कसैलाई दशा जस्तो ठान्नुपर्ने अवस्थाले चाडपर्वलाई पूर्ण रमाइलो बन्न सकिरहेको छैन ।
अहिले आफ्नै काँधमा सामाजिक राजनीतिकदेखि धेरै जिम्मेवारी छन् । जसको कारण जति बच्चा बेलामा दसैँको रौनक गर्दथ्यो । त्यो अहिले हुन सक्दैन । हाम्रो चाडपर्वका हिसावले हामी जति सांस्कृतिक रुपमा यति धनी छाँै की, जस्तोसुकै दुखहरु भए पनि चाडपर्व आए पछि भुलेर चाडपर्व मनाउने गरेका छौँ ।
चाडपर्वको नाममा पनि विभिन्न भड्किला क्रियाकलापहरु हुने गरेका छन् । यस्ता नराम्रो विकृति विसंगतीहरुलाई हटाउँदै जानुपर्छ । बडा दसैँ, शुभ दिपावली, छठ र नेपाल सम्वत लगायतका पर्वहरुको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु । साथै अहिले देशका विभिन्न ठाउँमा फैलिरहेका विभिन्न विद्धेशहरुलाई अन्त्य गर्दै सामाजिक एकता कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलोस् कामना ।
(लोकपथका लागि प्रकाश पुडासैनीले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया