बालापनको दशैँ भन्दा रमाइलो र मिठो अरु छैन । ती बेलाको सम्झनाहरु, घटनाहरु, जीन्दगीका बिताइएका क्षणहरु यादको अहिले बढी आउँछ ।
मेरो अनुभवमा बालापन र वृद्ध उमेर चाडपर्वका लागि अलि रमाइलो हुने रहेछ । किनकी चाडपर्वमा अरु बेलामा भेट नहुने आफन्तहरुसँग पनि भेट हुन्छ त्यही भएर बालक र बुढेसकालको दशैँ चाहीँ अलि महत्वपूर्ण हुने रहेछ ।
मेरो उमेरको अनुुभवले त्यो कुराको स्मरण गराइरहेको छ । बुुढेसकालमा अतिततिर फर्किने बेला हो र बालापन कुनै टेन्सन नहुने समय हो त्यसकारण ती दुवै अवस्था अलि फरक अनुभूती हुने रहेछ ।
मेरो बाल्यकालको दशैँ म धेरै मिस गर्छुु । मेरो बाल्यकालको दशैँमा यतिबेला काठमाडौंमा कुुइरो लाग्थ्यो, यहाँका फाँटहरु धान झुलेर पहेँलपुर हुन्थ्यो, आकाश एकदम स्वच्छ घनिभुुत हुन्थ्यो । यो शहर पनि धुँवा र धुलोले भरिएको थिएन । यो शहरको आफ्नो कल्चर थियो । काठमाडौंका नेवारहरुले मनाउने दशैँको एउटा टिपिकल स्वाद र काँठको वरपर जहाँ क्षेत्री बाहुन र अरु जातका मानिसहरुको बढी बसोबास थियो । शहरमा बढी नेवारहरुको बसोबास थियो, त्यो दुुइवटा कल्चरहरुको संगम भएर एकप्रकारको विशिष्ठ दशैँ हुन्थ्यो त्यो अहिले छैन ।
अहिले त काठमाडौंको जनसंख्या बढेर काठमाडौं उपत्यकाको विशेषता र मौलिकतालाई भीडको संस्कृतीले छोप्दै लगेको छ । त्यो बेलाको दशैँ, त्यो बेलाको प्रकृति, हरियो फाँटमा उभिएर चंगा उडाउँदाको स्वाद अब कहाँ पाइएला र ? अब काठमाडौंमा त कौसीबाट चंगा उडाउन पनि ठाउँ छैन । मेरो भतिजाले मेरो छतबाट चंगा उडाउन खोज्छ तर अन्य घरहरुले रोक्छ । काठमाडौंमा खुला आकाश नै छैन । काठमाडौंमा चंगा उडाउन पनि वातावरण छैन । त्यो बेलाको चंगा उडाइजस्तो अहिले छैन ।
मेरो हजुरबुबा हजुुरमुुमा हुँदाको दशैँको सम्झनाले मन आनन्दित र आल्हादित बनाउँछ । अहिले त्यो बेलाको कालखण्डका विभिन्न घटनाहरुको स्मरण बेला बेला हुने गरेको छ । हजुुरबुबा हजुुरआमा हुँदाको दशैँ बुुबा आमा हुँदाको दशैँको फरक फरक याद दिन्छ । अहिले आफैँ घरको मुख्य मान्छे भैयो ।
उमेर र समयको कालखण्ड अनुसार दशैँको कालखण्ड फरकफरक हुँदा रहेछन् । राजनीतिक मान्छेको दशैँ पनि अरुको जस्तै हुन्छ । मलाई याद छ, मेरो हजुरबुुबा हुँदा बुुबाले घरमा कौडा खेलाउनुहुन्थ्यो, त्यो एउटा कल्चर जस्तै थियो । उहाँले हामीलाई पनि पासा हान्न लगाउनुहुन्थ्यो । बुबा हुँदासम्म कल्चर अलिअलि बाँकी रह्यो । तर मैले चाँही सानोमा जति खेले खेले पछि जुवातास नराम्रो भन्ने लाग्यो र खेलिन ।
दशैँको आफ्नै महत्व छ । तर पनि हुनेलाई दशैँ भए पनि गरिबको लागि चाँही दशैँ होइन दशा हो भन्छन् नि । दशैँ आफ्नो गच्छे अनुसार किफायती ढंगले आनन्दले मनाउनुुपर्छ । दशैँमा डिमान्ड धेरै गरियो भने खुुसी र सुखी हुन सकिँदैन । त्यसकारण जनता समृद्ध र सम्पन्न नहुँदाखेरी कतिपय परिवारलाई दशैँ धान्न गारो हुन्छ । दशैँ सम्पन्नताले मात्रै मनाउने होइन, दशैँ सम्बन्धले मनाउने हो, दशैँ संस्कृतीले मनाउने हो । संस्कृती जमेको पानी जस्तो होइन बगेको नदी जस्तै हो । त्यो परिवर्तन भइरहन्छ ।
पर्व कुनै देशको राष्ट्रियता जोडिएको हुन्छ । त्यसमा बाह्य कुराहरुलाई ल्याएर मिसाउन हुँदैन । मौलिकतालाई जगेर्ना गर्नुपर्छ ।मेरो परिवारको कुनै पनि अभावको दशैँ छैन । हजुुरबुुबा हजुरआमा हुँदाखेरी बहुुत रमाइलोले बिताएँ । बुबा आमा हुँदाखेरी म राजनीतिमा रमाएँ । बुुबा हुँदाखेरी मैले परिवारको बोझ बोक्नुपरेन । तर मेरो बुबाले आफ्नो मात्र होइन वरपरको मान्छेको पनि दशैँ हेर भन्नुुहुन्थ्यो ।
अहिले देशलाई योगदान गर्न सक्ने युवाहरु हामीले इजरायलमा गुुमाउनुुपर्यो । कतिपय अझै बेपत्ता छन् जसको कारण देशमै खल्लो स्थिती छ । तै पनि हामीले दशैँको शुभकामना दिँनै पर्यो अन्यले मनाउनै पर्यो । मेरो काँधमा आइसकेपछि सामान्य तरिकाले दशैँ मनाउँने गरेको छौँ । हामी संयुुक्त परिवारमा नै बस्छौँ त्यसकारण अहिले पनि सामान्य तरिकाले नै मनाउने गरेका छौँ ।
सानो बेलामा नयाँ नाना, चंगा उडाउने हुन्थ्यो । तर १६-१७ वर्षको उमेरपछि त पोलिटिक्समा लागिहालियो । त्यसपछि ध्यान अन्तै मोडियो । मेरा दुुइवटा छोरीहरु छन् उनीहरु पनि धेरै डिमान्डेड छैनन् । सिम्पल छन् । दशैँ सबैभन्दा रमाइलो सानो बेलामा हुने रहेछ । अरुको हातबाट टिका थाप्ने, भेटघाट हुने रमाइलो हुन्थ्यो । पहिला पहिला धेरै आफन्तहरुकोमा टिकाटालो लगाउन गइन्थ्यो । तर अहिले खासखास नानेदार बाहेक अरुकोमा नजाने अवस्था आइसक्यो । अहिले त्यो परम्परा साँघुुरिँदै गइरहेको छ । त्यसले गर्दा सद्भाव र सम्बन्ध कमजोर हुँदै गएको र नेपाली समाज पनि यान्त्रीकीकरणतिर आफैँमा रमाउने प्रवृत्तिमा गइरहेको जस्तो भान हुन्छ ।
दशैँ हाम्रो राष्ट्रिय पर्व भए पनि यसका केही पक्ष अलि नराम्रो लाग्छ । त्यो के हो भने चाहिने भन्दा बढी हिंसा हुन्छ, बलि दिन पर्ने प्रथा छ । दशैँमा धेरै मासु खपत हुने बेला यही हो । मेरो मामाघर बुढो मामाघर वलि दिनुुपर्ने अनिवार्य थियो । कालै बोको चाहिने अवस्था थियो । त्यसलाई कतिपयले फेरेका पनि छन् यस्ता कुराहरुलाई परिवर्तन गर्न पाएमा दशैँ थप राम्रो हुुन्छ की लाग्छ ।
(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया