अहिले चाँही उमेरको हिसावले गर्दा पनि होला दसैँ खासै लाग्दैन । तर हामी बच्चा बेला हुँदा दसैँको महत्व हुन्थ्यो । दसैँमा आफन्तहरुलाई भेटघाट हुने, सबै बच्चाहरु जम्मा हुने खेल्ने, अरु कुरा भन्दा टिका लगाउँदा पैसा कतिकति हुन्छ भन्ने त्यसको अलवा धरानतिर हुँदा चाँही खेलतिर मन जान्थ्यो । त्यो बेला पिङहरु खेल्ने, अरु गेमहरु खेल्ने र आफन्तको जाँदा चाँही अर्कै रमाइलो हुन्थ्यो ।
अहिले छोराछोरीहरु छन्, भान्जाभान्जी नाती नातिनीहरु छन् सबै भेटघाट हुने भएकाले एक किसिमले रमाइलो लाग्छ । बाल्यकालमा वर्षको एकपटक नयाँ लुगा लगाउने भन्ने हुन्थ्यो । अनि नयाँ लुगा लगाउँदा छुट्टै रमाइलो हुन्थ्यो । आफन्तमा गएर पैसा कतिकति जम्मा गर्न पाइन्छ ? कति जम्मा गर्न सकिन्छ भन्ने हुन्थ्यो । हामी बच्चामा चाँही धेरै रमाइलो गथ्र्यौँ ।
अहिले काठमाडौंमा त्यो रमाइलो गर्ने खुला ठाउँहरु छैन । अहिले धरानमा पनि पहिले जस्तो खुला ठाउाँहरु छैन । हामी हुँदा पिङहरु खेल्ने अरु कुराहरु खेल्ने हुन्थ्यो । धेरै रमाइलो हुन्थ्यो । तर अहिले क्राउडहरु भएर त्यस्तो वातावरण छैन ।
हामी सानो छँदा पैसा ठूलो हुन्थ्यो जस्तो लाग्थ्यो । मामाले कति दिनुहुन्छ ? बाजेले कति दिनुहुन्छ भन्ने लाग्थ्यो । म मात्रै होइन मेरो दिदी भाइबहिनीहरुले पनि त्यही गथ्र्यौँ ।
तर ठूलो भएपछि फुटबलतिर लागेपछि दसैँ धेरै मनाउन पाएनौँ । प्राय दसैँ र तिहारको बीचमा गेमहरु हुने गरेको कारण त्यति मनाउन पाइएन । सानो छँदा चाँही नयाँ लुगा लगाउने भन्ने रमाइलो हुन्थ्यो, युवा अवस्थामा त्यसले त्यति महत्व भएन । यो उमेरमा आएपछि केही महत्व नै लाग्दैन । अहिले त मन्दी छ, आर्थिक अभाव, महंगी भएको कारणले पनि पुुर्खाले भनेजस्तो घाँटी हेरेर हाड निल्नुपर्ने भनेजस्तै छ तर पनि खुसुीसाथ दसैँ मनाइन्छ ।
पहिले धरानमा जस्तो चाँही अहिले छैन । बुबा मुमाहरु हुनुभएको बेला जस्तो अहिले रमाइलो छैन । तर अहिले दाजुहरु, दिदीहरु हुनुहुुन्छ । सबै परिवार मिलेर घर सफा गर्ने, खाना पकाउने, लुगा धुने आदी गर्छौँ ।
मैले बा आमासँग कहिले पनि पैसा मागिन् । बाहिर कतै जाँदा होस् वा बाहिर खेल्न जाँदा मैले बा आमासँग कहिले पनि पैसा मागिन् । त्यो बेलाको स्थिती पनि राम्रो थिएन । तर अहिलेको जेनेरेसनसँग चाँही गारो छ । अहिलेको जेनेरेसनले चाँही धेरै कुराहरु माग्ने, धेरै कुराहरु डिमाण्ड गर्ने गर्छन् ।
अहिलेको दसैँ अनावश्यक ‘सो’ गर्ने कामहरु भइरहेको छ । अनावश्यक खर्चहरु भइरहेको छ । दसैँ भनेको त आफ्नो परिवारसँग सबैसँग बसेर आफूसँग जे छ त्यही खाएर मनाउने हुनुपर्दछ । सबैसँग दुखसुखको गफहरु गर्ने, भोलिका दिनहरुमा कसरी अघि बढ्ने भन्ने प्लानहरु बनाउने गर्न पर्दछ ।
अहिलेको दसैँ जुठो परेको छ । परिवारहरु धेरै चाँही धरानमै हुनुहुुन्छ । यहाँ मामाहरु हुनुहुन्छ त्यतैतिर गएर मनाउने विचार छ । पहिले चाँही सबै जना एकै ठाउँमा बसेर दुखसुखको कुराहरु गर्ने कसले के गरिरहेको छ बुझ्ने लगायत हुन्थ्यो । अहिले त विकृती जस्तै छ । तास खेल्ने, जाँड रक्सी खानेलाई मात्रै दसैँ लाग्ने गरेको जस्तो देखिन्छ । म त खाँदिन त्यतातिर ध्यान नै छैन ।
देशको स्थिती यस्तो छ सबैमा सुख शान्ति छावस शुभकामना व्यक्त गर्न चाहान्छु ।
(लोकपथका लागि विप्लव जम्कटेलले गरेको कुराकानीमा आधारित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया