ऋचाकाे दसैँ अनुभव : अहिले पनि दसैँमा कसैले लुगा किनिदिए हुन्थ्यो जस्तो लाग्छ (भिडियोसहित)

लोकपथ
0
Shares

मेरो जन्म धनगढीमा भएको हो । बाल्यकालमा गाउँमा दसैँ मनाएको धेरै कुराहरुको याद छ । काठमाडौं छोडेर आफ्नो गाउँ घर गएर मनाउनुनै सबै भन्दा ठुलो हुन्छ जस्तो लाग्छ । मलाई सम्झना छ, छुट्टीको समयमा बाबा आमासँग गाउँमा गएर दसैँ मनाउँदा दसैँको मज्जा नै छुट्टै हुन्थ्यो । अझ नाइट बस चढेर जानुको मज्जाको त कुरै नगरौँ ।

मेरा लागि सबै दसैँ नै स्मरणीय नै छ । अहिले मेरो बुबाआमा हुनुहुन्न । बुबाआमा हुँदाको दसैँको रौनक नै छुट्टै हुन्थ्यो तर अहिले सम्झिँदा अलि कस्तो कस्तो लाग्छ । त्यो सम्झनालाई मनभित्र कुनामा लुकाएर राखेको छु ।
बुबाआमा हुँदा सबै दिदिबहिनिहरु एकै ठाउँ भेट्ने, रमाइलो गर्ने, नयाँ लुगा किन्ने गरिन्थ्यो । अहिले पनि कसैले नयाँ लुगा किनेर दिए पनि हुन्थ्यो जस्तो लाग्छ ।

बच्चा बेलामा नयाँ लुगा किन्नको लागि बुबाले पैसा दिनु हुन्थ्यो । दसैँको सन्र्दभमा मलाई याद हुने अर्को कुरा भनेको खसी काट्ने ठाउँमा मासु लिन जाँदाको हो । त्यो बेला मासु भाग लगाउने ठाउँमा जान्थे र अनि चाँही मासु थोरै भयो की भनेर हेर्ने गर्थेँ, त्यो कुराको अहिले बहुुत याद आउँछ ।

साथै मलाई चङ्गा उडाउन मलाई धेरै रमाइलो लाग्छ । छिमेकी दाजुभाइ र गाउँ घरको साथी भाइ मिलेर चङ्गा उडाउन धेरै रमाइलो हुन्थ्यो । त्यो कुराहरु चै एकदम अविस्मरणीय हुन्छ मेरो लागि । तर, पछि सबै धनगढीेबाट काठमाडौंमा नै आयौँ अहिले बुहारी भएपछि पनि दसैँ मनाउनुको छुट्टै रमाइलो छ । यद्यपि, बुबाआमा हुँदा र अहिलेको दशँैमा धेरै नै फरक हुन्छ । बुबाआमा भन्नुहुन्थ्यो, ‘दसैँ त साना केटाकेटीहरुका लागि हो ।’ अहिले त्यही कुराको महसुस गर्दैछु । तर अहिले आमाबुबा नहुँदा दसैँ सधैँ खल्लो नै हुन्छ ।

दसैँमा सबैसँग भेट्न पाउनु मेरा लागि खुसीको कुरा थियो । दसैँमा दक्षिणा सबैको भन्दा धेरै किन भएन भनेर रुने गरेको थिएँ । दसैँमा म जहाँ भएपनि घर पुग्थेँ । आमाले आमाले भन्नुहुन्थ्यो, ‘संसारको जुन कुनामा पुगे पनि दसैँको समयमा चाँही घरमा आउनुुपर्छ । टिका लगाउन घर आउनु पर्छ ।’

आमाबुबा हुने बेलासम्म कुनै पनि दसैँ छुटाइन् । आमा बित्नुभएको वर्ष सबैभन्दा खल्लो दसैँ भयो । त्यो बेला धेरै मान्छे भए पनि एक्लो महसुस भयो । यो चाडको म सधैँ श्रद्धा गर्छु, मेरो हजुरआमा हुनुहुन्छ उहाँको हातबाट टिका लगाउँछु ।
घरमा पुुजापाठ गर्न शुरु भइसक्यो । घरमा आउने सबै मान्छेलाई मिठो खानेकुरा खान दिने, तास खेल्ने रमाइलो गर्ने गरेर मनाउँछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?