यस कारण थपियो डोल्पामा सुरक्षाकर्मी, रोकिएला त विप्लव समूहको हिंसात्मक गतिविधि ?

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका गतिविधि नियन्त्रण गर्न केन्द्र र प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गत मगंलवार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेसँगै केन्द्र र प्रदेशमा थप सुरक्षाकर्मी खटाइएको हो । 

सुरक्षा निकायका अनुसार विप्लव समूहको हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । 

सरकारले घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने निर्देशन दिएको हो । 

योसँगै डोल्पामा उच्च सतर्कता बढाइएको छ । 

विप्लव समूहका कार्यकर्ताले तीन साताअघि डोल्पाको टेलिफोनका दुई टावर बम विस्फोट र स्थानीय तहका गाडीहरुमा आगजनी गरेका थिए । साथै सदरमुकामका र ग्रामीण क्षेत्रका आधा दर्जन स्थानमा विस्फोटक पदार्थ भेटिएको थियो । 

प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसीका अनुसार विप्लव समूहका गतिविधि रोक्न सतर्कता अपनाउन निर्देशन दिइएको छ । 

जिल्ला सुरक्षा समितिले विप्लव समूहको विस्फोट र आगजनीका घटनालाई गम्भीर रुपमा लिन र हिंसात्मक गतिविधि रोक्न सबै सुरक्षा संयन्त्रबीच समन्वय गरेर थप सुरक्षाकर्मी परिचालन गरेको हो । 

विप्लव समूहका केही कार्यकर्ता विस्फोट पदार्थ र हतियारसहित देखाएको विशेष सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी एमसीले जानकारी दिए । 
योसँगै रोल्पाका सबै प्रहरी इकाईमा सुरक्षाकर्मी थपिएको उनले बताए ।

जिल्लामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित गरिएको बताउँदै उनले भने, सबै सुरक्षाकर्मीको संख्या २ हजारबढी छ । 

साथै सेनालाई लामो दूरीको निगरानी गर्न स्वीकृति दिइएको छ ।

त्यस्तै शुक्रवार ललितपुरको बालकुमारस्थित डेराबाट विप्लव नेकपाका पोलिटब्यूरो सदस्य जीवन्त भनिने मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?