तीन वर्षभित्र अन्तर्राष्ट्रिय खेलकुद परिषर निर्माण गर्छौँ : खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेदकुदमन्त्री जगत बहादुर विश्वकर्माले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलकुद परिषरको निर्माण गर्ने बताएका छन् । 

मन्त्रालयको एक वर्षे खेलकुद कार्य प्रगति विवरण सार्वजनिक कार्यक्रममा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।

‘हामीसँग अहिले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको खेलकुद परिषर छैन, यहि अवस्थालाई मध्यनजरमा राख्दै आगामी तीन वर्षको लक्ष्य राखेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने गरेर खेलकुद परिषर बनाउने तयारी गरिरहेका छौँ’, उनले बताए । 

साथै खेलकुद मन्त्रीले हाल भक्तपुरमा जग्गा प्राप्तीको प्रक्रिया अघि बढि रहेको जानकारी दिएका छन् । उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण गर्नको लागि ४ देखि १५ सय रोपनि क्षेत्रफल रहेको जग्गा आवश्यक छ, हाल काठमाडौं उपत्यका विकाश प्राधिकरणमार्फत ‘ल्याण्ड पुलिङ’मार्फत काम अगाडि बढाइ राखेका छौँ ।’ 

त्यस्तै ७ वटै प्रदेशमा आधुनिक सेवा सुविधा सम्पन्न रंगशालाको पनि निर्माण गर्ने उनले जानकारी दिए । 

‘नेपाल सरकारको लक्ष्य अनुसार नै ७ वटै प्रदेशमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रंगशाला बनाउने तयारी गरिरहेको छ, चालु आर्थिक वर्षको बजेटमा प्रदेश नम्बर २, कर्णाली प्रदेश र सुदुर पश्चिमका लागि विनियोजित रकम सात करोडबाट तीन वटा प्रदेशमा साढे दुई-दुई करोड कार्य विभाजन गरेर दिने तयारी गरिरहेका छौँ, बाँकी भएका प्रदेशमा भने अहिले भइरहेको संरचनाहरुलाई स्तरउन्नती गर्ने काम भइरहेको छ’, खेलकुद मन्त्रीले बताए । 

त्यस्तै, नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकुद ‘साग’लाई नै मध्यनजरमा राख्दै काठमाडौंमा रहेको दशरथ रगंशालाको स्तरउन्नतीको काम ८० प्रतिशत सकिएको पनि उनले जानकारी दिए । 

उनले भने, ‘अहिले युवा तथा खेलकुद मन्त्रालयको मुख्य एजेण्डा भनेको नै आर्ठौँ राष्ट्रिय खेलकुद र १३ औँ साग प्रतियोगिता हो, अहिले आठौँ खेलकुदलाई १३ औँ साग खेलकुद प्रतियोगिताको तयारीका रुपमा लिएका छौँ ।’ 

साथै खेलकुद मन्त्रीले  चालू आर्थिक वर्षमा नै देशको विभिन्न स्थानमा ६ वटा रंगशाला, १९ वटा कबर्ड हल, ७ वटा क्रिकेट मैदान र ९० स्थानमा स्थानीय खेल मैदानको कार्य भैरहेको पनि बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्दा खेलकुद मन्त्रालयको जिम्मेवारी विश्वकर्मालाई दिएका थिए ।

प्रतियोगिता आयोजना, प्रशिक्षण र पुरस्कारमा उल्लेख्य काम गरेको उल्लेख गर्दै खेलकुदमन्त्री विश्वकर्माले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा नीतिगत सुधारको काम गरेको दाबी समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?