रामेछाप । सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्षका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लाग्नुभएका पर्वतारोही प्रकाशराज पाण्डेलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) तथा हास्य कलाकार किरण केसीले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका छन् ।
पाण्डे सो शिखर आरोहणका लागि दशैँको टिकाकै भोलिपल्ट अफ्रिकाको तान्जेनिया तर्फ जाँदै छन् । तान्जेनियामा रहको सो शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो रहेको छ । जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका पाण्डेले गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि आरोहण गरिसकेका छन् ।
पाण्डेलाई बिदाइ गर्दै मदनकृष्ण श्रेष्ठले शिखर आरोहणको शुभकामना व्यक्त गरे । हरिवंश आचार्यले युरोपको हिमाल चढ्न जाँदा पनि आफूहरूले पाण्डेलाई यसै गरी बिदाइ गरेको र अफ्रिका जान लाग्दा पनि बिदाइ गर्न पाएको भन्दै खुसी व्यक्त गरे । ‘तपाईँ हिमाल चढ्ने, हामी बिदाइ गर्ने, यो हाम्रो लागि पनि गौरवको विषय हो’, उनले भने ।
अर्को कलाकार किरण केसीले बिना अवरोध हिमाल चढ्न सफलता मिलोस् भन्दै शुभकामना दिए । उनले पाण्डेलाई नेपालको मान र नेपालको सानको संज्ञा दिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
यस अघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए । सगरमाथा आरोहण पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका छन् । उनले हालसम्म विभिन्न नौ वटा हिमाल आरोहण गरेका छन् । एक वर्ष भित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया