काठमाडौं । नेपालले यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । यूएईलाई १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६।५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले विजयी भएको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर यूएईलाई २८१ रनको लक्ष्य दिएको थियो ।त्यसपछि खेल वर्षाका कारण प्रभावित भएपछि २७ ओभरमा छोट्याएर डकवर्थ लुइस मेथडमा नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।
उक्त लक्ष्य पछ्याउने क्रममा यूएईका ध्रुव परशरले ५९, आर्यान्स शर्माले ३२, कप्तान आयन अफ्जल खानले ३०, ययिन किरण राईले १७ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
नेपालका बलर आकाश त्रिपाठीले ४, सुवाश भण्डारीले ३, आकाश चन्दले २ र हेमन्त धामी एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया