काठमाडौं । नेपालको बैंकिङ क्षेत्रका अग्रज व्यक्तित्व एवं प्रतिष्ठित एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको निधनप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले दु:ख व्यक्त गरेको छ ।
श्रेष्ठको ९४ वर्षको उमेरमा यही कात्तिक ६ गते, मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । श्रेष्ठको अकल्पनीय एवं दुःखद निधनले सिबिफिन परिवार स्तब्ध एवं मर्माहत भएको सिबिफिनद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको हामीले महसुश गरेको सिबिफिनको भनाई छ ।
कुशल नेतृत्व क्षमता, नविन एवं दुरदर्शी सोचहरुलाई नेपालको बैंकिङ क्षेत्रमा लागू गर्दै आएका श्रेष्ठको निरन्तरको योगदानबाट एभरेष्ट बैंक दिगो, अब्बल र विश्वासिलो बैंककोरुपमा स्थापित हुन सफल भएका सिबिफिनको भनाई छ । भारतीय पञ्जाव नेशनल बैंकलाई ज्वाइन भेञ्चरकोरुपमा नेपालमा प्रथमपटक सफलपूर्वक भित्र्याएका श्रेष्ठको उक्त पहलले बैंकलाई थप उचाइँ समेत प्रदान गरेको हो ।
नेपालको बैंकिङ क्षेत्रमा श्रेष्ठको पु¥याएका अमूल्य योगदानहरुप्रति हामी खुला हृदयले उच्च सम्मान व्यक्त गर्दछौं । उहाँका युगान्तकारी कर्म र पहलहरु नेपालको बैंकिङ इतिहासमा स्वर्णिम अक्षरमा दर्ज हुनेमा हामी पूर्ण विश्वस्त छौं । जीवनको अन्तिम समयसम्म पनि गुणस्तरीय, विश्वासिलो र सर्वसुलभ बैंकिङ सेवाको विकास एवं विस्तारमा क्रियाशिल रहनुभएका श्रेष्ठका उदाहरणीय कार्यहरु हामी सबैका लागि उत्प्रेरणा र ऊर्जाको स्रोत बनिरहने छन्, बिज्ञप्तीमा भनिएको छ ।
श्रेष्ठ नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष भएका थिए । उनको पहलमा भारतको पंजाब नेसनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो । पंजाब नेसनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ । एभरेष्टमा श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया