काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेको हो ।
कात्तिक १३ देखि १९ गतेसम्म चल्ने प्रतियोगिता टियु र मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ । नेपाल समूह ‘ए’ मा रहेको छ जसमा सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् । नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम) ढकाल र सागर ढकाल टिममा अटाएनन्। तर, सन्दीप लामिछाने टी–२० विश्वकप छनोटका लागि टोलीमा समेटीएका छन् ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, जितेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया