५० लाखको लागतमा सुविधा सम्पन्न घरबास बनाउँदै सहकारी

भद्रपुर । स्थानीयस्तरमा कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झापाको गौरादह नगरपालिका–६ स्थित महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले घरबास निर्माण कार्य शुरु गरेको छ । 

सहकारी अवलोकन गर्न आउनेलाई लक्षित गरी ५० लाखको लागतमा चार वटा सुविधा सम्पन्न घरबास बनाउन थालेको हो । सरकारले सो सहकारीलाई चालू आर्थिक वर्षमा ५० लाख विनियोजन गरेको छ । उक्त रकम र सहकारीकोसमेत लगानीमा घरबास बनाउन शुरु गरेको सहकारीका अध्यक्ष मीना ढकालले बताए । 

सहकारीले एक सय बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्न देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिक जसो यहाँ आउने गरेका छन् ।

सहकारी अवलोकनमा आउने पर्यटकलाई स्थानीय परिकार सहकारीमै बनाएर खुवाए पनि बास बस्नेका लागि दमक र बिर्तामोडका होटलमा पठाउनुपर्ने बाध्यता अन्त्य गर्न घरबास बनाउन शुरु गरेको अध्यक्ष ढकालले बताए । 

“गौरादहमै व्यवस्थित होटल, लज नभएको हुँदा सहकारीमै होमस्टे पर्यटकका लागि राम्रो विकल्प हो’, उनले भने, “होमस्टेमा पाहुना बसेपछि हाम्रो परियोजना हेर्न र बुझ्न सजिलो हुन्छ ।”उनले घरबासमा बस्ने पर्यटकलाई आफ्नै सहकारीको पोखरीका स्थानीय माछा, कुखरालगायत बारीमा उत्पादन भएको खानेकुरा खुवाउने बताए ।

घरबास तीन महीनामा सञ्चालनमा आउने छ । प्रदेश नम्बर १ मै सहकारीले सञ्चालन गर्ने घरबास यो नै पहिलो हुने संस्थाको दाबी छ । घरबासको क्षमता ४० जना अट्न सक्ने हुनेछ । 

घरबासमा बाह्य तथा आन्तरिक पर्यटकलाई नेपाली सांस्कृतिक परम्परा अनुरूप स्वागत, बसोबास र खानपानलगायतमा विशेष ध्यान दिने सहकारीले जनाएको छ । वि.सं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ भएको सो संस्था चार वर्षपछि सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो । 

कूल ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ महिला शेयर सदस्य छन् ।

सहकारीले मौसमअनुसारको खेती गर्छ । सहकारीले उत्पादन गरेको धान, मकै, गुहँ, तोरी भने बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको अध्यक्ष ढकालको भनाइ थियो । यो सहकारी देशकै नमूना सहकारीको रुपमा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?