होलीको मौलिक संस्कृतिमाथि ‘ओभरल्याप’, डिजेवाला’ गीतले परम्परा नै धरापमा

काठमाडौं । ‘होलीले रंगायो यो मेरो नयाँ चोली, होली हो होली, फागु हो फागु’ लगायतको सदाबहार नेपाली गीत अहिले रेडियोमा मात्र हैन् टेलिभिजनमा पनि बज्न थालिसकेको छ ।

भोली ‘बुधवार’ धुमधामका साथ मनाइन लागेको होलीलाई लक्षित गर्दै काठमाडौंको प्राय सबै रेस्टुरेन्टले होली विशेष कार्यक्रमहरुको पनि आयोजना गर्दैछ । युवा पुस्तालाई केन्द्रित गरेर आयोजना गर्न लागेको विशेष कार्यक्रमले काठमाडौंलाई होलिमय बनाउने छ ।

होली यसरी मनाउने, यो खाने, यसरी नाच्ने प्लान एक महिना अगाडिदेखि नै बनाउछन् युवा पुस्ता । तर, पछिल्लो समय मनाउने होलीमा फोहोर पानी छ्याप्ने, फेस पेन्टिङ त्यसमा डिजे वाला गितले होलीको परम्परागत महत्व र रौनकता हराउँदै गइरहको छ । 

डिजे वाला बाबु गाना बजादे… यस्ता प्रकारका विदेशी गीतको प्रभावले नेपालमा मनाइने परम्परागत होलीमाथि ‘ओभरल्याप’ नै गरेको छ । बढ्दो आधुनिकता र त्यसमाथि सहरमा मनाइने होलीको प्रभाव यतिबेला गाउँघरमा समेत परेको छ ।

रुम्जाटारको स्थानिय बासिन्दा उमा गुरुङले भनिन्, ‘पहिले गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली खेल्ने चलन थियो, तर पछिल्लो समय बढ्दो डिजेवाला गितले हाम्रो मौलिक परम्परा नै धराप परेको छ ।’ 

साथै उनले मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन थालेका समेत बताइन् । 

त्यस्तै, अर्का ५५ वर्षिय स्थानिय बासिन्दा प्रताप गुरुङले भने, ‘पहिले होली आउनु एक दुई दिन अगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने चलन थियो, तर, अहिले भने गाउँघरमा मौलिक पारामा होली गीत गाउने र नाच्ने चलन हटिसकेको छ ।’ 

गाउँघरमा शहरी परिवेशले छुन थालेपछि मौलिक भाकामा होली गाउने र नाच्ने प्रचलन हराउँदै गएको हो । यस पर्वलाई विशेषगरी शहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ ।

त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा पाकापुस्ता चिन्ता व्यक्त गर्छन् । 

पछिल्लो समय होली पर्व तडकभडक हुन थालेको छ । शहरी परिवेशले ढपक्कै ढाकेपछि गाउँमा मौलिक गीत गाएर नाचेर होली खेल्नुको सट्टा वनभोज जाने र रमाउनेको जमात बढ्दो छ । यसले पनि होलीको परम्परागत महत्व र रौनक हराउँदै गएको हो । 

गुरुङले थपे, ‘पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले होली गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेल्दा निकै आनन्द लाग्थो ।’ 

‘पहिला संस्कार संस्कृति जोगाउँदै मौलिक पारामा गीत गाएर नाचेर होली खेलिन्थ्यो, होलीको महत्व नबुझी अहिले एकैछिन रमाइलोका लागि क्यासेट, मेमोरीकार्डमा गीत बजाएर नाच्ने र रङ दल्ने जमाना आयो’, उनले लोकपथलाई भने । 

होलीका अवसरमा पछिल्लो समय खुल्ला स्थान तथा खोला किनारमा बनभोज खाने र रमाउनेको संख्या उल्लेख्य छ । बढ्दो सहरिकरण र विदेशीको देखासिकीले आफ्नो मौलिक संस्कृति लोभ हुँदै गएको बुढापाकाहरु बताउँछन् ।

त्यसैले अहिलेको युवा पुस्ता डिजे वाला गितमा हैन आफ्नै मौलिक संस्कृतिलाई जर्गेना गर्दै होलीमा पो रमाउने हो की 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?