एसइई परिक्षामा सिन्धुलीबाट  साढे पाँच हजार परीक्षार्थी सहभागी हुने

सिन्धुली । यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ एसइई मा सिन्धुलीमा पाँच हजार ६ सय २० परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमिततर्फ पाँच हजार ४ सय ८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए ।

प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको जानकारी दिएका हुन् । प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन् । 

यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार/चार विद्यार्थी र प्राय धेरै विद्यालयबाट एक÷दुई रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । 

यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन् । कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारलाई नै केन्द्र मानेर कारागारबाटै परीक्षा दिने गजुरेलले जानकारी दिए । जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्र्गत कारागारमा नै परीक्षा दिने व्यवस्था मिलाइएको उनको भनाई छ । 

सिन्धुलीमा गर्त वर्षको तुलनामा २२१ विद्यार्थीको सङ्ख्या यस वर्ष कमी रहेको छ । सिन्धुलीमा गत वर्ष पाँच हजार ७१५ छात्रछात्राले एसइई परीक्षा दिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ ।

नजिकै देखिए पनि भौगोलिक हिसाबले टाढा हुँदा सबैलाई सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ । उत्तरपुस्तिका प्रहरी कार्यालयमा रहेको र सम्बन्धित केन्द्राध्यक्षले लैजाने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ । 

यसैबीच एसइई परीक्षालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न यही चैत ८ गते सबै केन्द्राध्यक्षलाई अभिमुखीकरण दिइने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जानकारी दिएको हो । 

जिल्लाभरका १३४ विद्यालयबाट परीक्षामा सहभागी हुने छात्रछात्रालाई पायक पर्ने स्थानमा २६ परीक्षा केन्द्र तोकिएको र यस वर्ष परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको समन्वय एकाइ सिन्धुलीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?