काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाईले भोलि युएईसँग हुने सेमीफाइनलमा आजका भुल सुधार्ने प्रतिबद्धता जनाएका छन् ।
आज भएको आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल र ओमानबीचको रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले पराजित भएपछि प्रशिक्षक देसाईले भोलिको खेलमा आजका भुल सुधार्ने बताएका हुन् ।
खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक देसाईले ओमानको खेलको तारिफ गरे । सँगै उनले नेपालको खेलले आज दर्शकहरु निराश हुनु परेपनि भोलि युएईसँग हुन लागेको खेलमा आजको भन्दा राम्रो गर्ने बताए ।
देसाईले भने,‘आज हामीले आफ्नो लाइन क्रस गर्न हुँदैन थियो । यो निराशाजनक हो । म भन्दा पनि धेरै खेलाडी र उनीहरु भन्दा धेरै दर्शक निराश छन् ।तर,हामीसँग एउटा अवसर छ, २४ घण्टाको कुरा हो । भोलि हामीले त्यसलाई करेक्ट गर्नुपर्छ ।’
उनले आजको खेलमा आफ्ना खेलाडिको व्याटिङ मुडलाई नजिकबाट हेरेको र आफूले इन्जोए गरेको बताए । उनले भोलि मूलपानीमा युएइसँग हुने प्रतिस्पर्धा च्यालेन्जको रुपमा लिएको र उत्साहपूर्वक क्यिर माइण्डसेट बनाएर खेल्ने बताए ।
ओमानका क्याप्टेन जिसन मक्सुदले आफ्नो टीमले जितेकोमा खुशी व्यक्त गरे तर उनी आफ्ना टीमले सुरुमा गरेको प्रर्दशनले खुशी थिएनन् । नेपालले घरेलु मैदानमा खेलिरहँदा आज खराब व्याटिङ गरेकै कारण जीतबाट चुकेको बताए ।
नेपाल र यूएईबीचको सेमिफाइनल खेल शुक्रबार मूलपानी क्रिकेट मैदानमा हुनेछ । यूएईले मूलपानीमा भएको समूह ‘बी’ को अन्तिम खेलमा हङकङलाई २२ रनले पराजित गर्दै समूह विजेता बनेको हो ।दुवै टोली भोली सेमिफाइनलको लागि प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया