भूकम्प प्रभावितको उद्धार र राहतको लागि १० लाख दिने सिबिफिनको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोट–रुकुम पश्चिम भूकम्प पीडितहरुको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोगका लागि सिबिफिनकोतर्फबाट तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

सिबिफिनले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सो रकम उपलब्ध गराउन लागेको हो ।

त्यसैगरी सिबिफिनले विपदको अवस्थामा संघ प्रदेश तथा स्थानीयमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुलाई सहयोग उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

कार्तिक १७ गते, शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति भएको छ ।

त्यस्तै भूकम्पबाट मृत्यु भएकाहरुप्रति श्रद्धान्जली साथै घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?