भारतीय नम्बरको ट्रकबाट १ सय ६४ किलो चरेस बरामद, एक पक्राउ

धादिङ । काठमाडौंबाट भारततर्फ जान लागेको भारतीय नम्बर प्लेटको युपी १९टी ५१७१ नम्बरको ट्रकबाट प्रहरी १ सय ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको छ । 

शुक्रवार बिहान पृथ्वी राजमार्ग अन्तर्गत गजुरीमा चेकजाँचका क्रममा प्रहरीले १ सय ६४ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेस बरामद गरेको हो । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलका अनुसार भारतीय नम्बरको ट्रकको क्याबिनमा आठवटा बोरामा लुकाइछिपाइ भारततर्फ लान लागेको अवस्थामा सो लागूऔषध बरामद गरेको हो । 

लागूऔषध चरेससहित पक्राउ पर्नेमा भारत उत्तर प्रदेश निवासी २५ वर्षीय मौ महातप रहेका छन् । उनलाई पक्राउ गरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?