नेपाल–जापानबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुँदै, सरकारी संयन्त्रबाट कामदारको भर्ना

काठमाडौं । नेपाल र जापानबीच आगामी सोमवार श्रम समझदारी हुने भएको छ । 

जापानमा नेपाली कामदार पठाउनेबारे दुई देशबीच श्रम समझदारी हुन लागेको हो । श्रम समझदारीपत्रमा श्रम मन्त्रालयका सचिव र जापानी राजदूतले हस्ताक्षर गर्दै छन् ।

सरकारी संयन्त्रबाटै कामदार लैजाने गरी हुने समझदारीलाई मन्त्रिपरिषद् बैठकले पारित गरिसकेको छ  भने जापानले चैत १८ गतेदेखि विदेशी कामदार आपूर्ति गर्ने निर्णय गरेको छ । नेपाली कामदारका लागि श्रम भिसामा जापान जाने बाटो पहिलो पटक खुलेको हो । श्रम मन्त्रालयका अनुसार जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालको कामदार लैजाने भएको छ । 

नेपाली कामदारलाई आर्थिक शोषण र ठगीबाट मुक्त गर्न आपूर्ति प्रक्रियामा तेस्रो पक्षको संलग्नता नगर्ने सहमति भएको छ भने, अब सरकारी संयन्त्रबाट कामदारको भर्ना प्रक्रिया हुन्छ । 

मन्त्रालयका एक अधिकारीका अनुसार वैदेशिक रोजगार विभागभित्र जापान पठाउने छुट्टै शाखा स्थापना हुनेछ । जापानले बर्सेनि कति नेपाली लैजाने भन्ने निर्धारण गरिसकेको छैन । 

जापानी भाषा प्रवीणता परीक्षण (जेएलपीटी) को चौथो तह पास भएका कामदार मात्रै जापान जान पाउनेछन् । 

जापानले पहिलो ५ वर्षमा ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने नीति लिएको छ ।
जापान नेपालीका लागि सुरक्षित र आकर्षक गन्तव्य बन्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?