मकवानपुर । चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ ।
मंगलबार हेटौंडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो ।
उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजानीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए ।
उनका अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वाव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए ।
उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए । उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमती सहित निर्णय भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया