साल्ट ट्रेडिङको वितरणपछि बजारमा सहज बन्दै चिनी (भिडियोसहित)

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतमा चिनी वितरण सुरु गरेको छ । दसैँ अघिदेखि नै बजारमा चिनीको अभाव भएपछि कर्पोरेशनले तिहारका लागि भने चिनीको सहजताका लागि वितरण सुरु गरेको हो ।

बजारमा चिनीको कृतिम अभाव र कालोबजारी बढेपछि सरकारले नै चिनीको सहज आपूर्तीका लागि कर्पोरेशन मार्फत् सरकारी दररेटमै चिनीको सहज आपूर्तिको व्यवस्था गरेको हो ।

अहिले कर्पोेरेशनले कोटा प्रणालीमा चिनी वितरण गरिरहेको छ । जसअनुसार व्यक्तिले प्रतिव्यक्ति २ केजी चिनी प्रतिकेजी ९७ रुपैयाँमा प्राप्त गर्न सक्दछ । भने खुद्रा व्यापारी, मार्ट, डिपार्टमेन्टल स्टोर, ग्रोसरी, मिठाइ पसल, बेकरी, जुस, अचार उद्योगका लागि समेत उपलब्ध गराउँदै आइरहेको छ ।

व्यक्तिको हकमा कुनै पनि कागजपत्र नचाहिने भए पनि संस्थागत रुपमा भने व्यवसाय दर्ताको प्रमाणपत्र, प्यान र भ्याटको प्रमाणपत्र आवश्यक पर्दछ । कर्पोरेशनले खुद्रा व्यापारी, मार्टमा, डिपार्टमेन्टल स्टोर, ग्रोसरी लगायतलाई प्रतिकेजी ११२ रुपैयाँ ५० पैसा र मिठाइ पसल, बेकरी, जुस, अचार आदी बनाउने उद्योगका लागि भने प्रतिकेजी ११५ रुपैयाँ पर्दछ । कर्पोरेशनले सहुलियतमा चिनी वितरण थालेपछि अहिले बजारमा समेत चिनीको हाहाकार कम हुँदै गइरहेको पाइन्छ । उपभोक्ताका लागि खरिद गरेको चिनी पनि व्यापारी र व्यवसायीहरुले महंगो मूल्यमा बेच्न थालेपछि सरकारले त्यसको अनुगमन गरिरहेको छ । ११२ रुपैयाँ ५० पैसा प्रतिकिलो किनिएको चिनी खुद्रा व्यापारीले उपभोक्तालाई ११८ भन्दा बढीमा बेचेमा कारबाही गर्ने जनाएको छ । सहज रुपमा कर्पोरेशनले चिनी वितरण गर्न थालेपछि आम उपभोक्ता र व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् । हरेक वर्ष चाडपर्व नजिकिएसँगै चिनी लगायत खाद्य वस्तुको कृतिम अभाव देखिन थाल्छ । तर, सरकारी संयन्त्रबाट जाँदा त्यसको सहजता प्रदान गर्न सकिने अनुमान गर्न सकिन्छ ।

सरकारको निर्देशनमा नै यसरी सरकारी दररेटमा चिनी उपलब्ध गराउन थालेको २ दिनमै बजारमा कृतिम अभावको अन्त्य हुन थालेको बताउँछन् साल्ट ट्रेडिङ कर्पोरेशनका असिस्टेन्ट म्यानेजर प्रज्वलमान प्रधान । सरकारले चाडपर्वका बेला हुने अभावलाई निराकरण गर्न केही महिना अघिदेखि नै त्यसको प्रबन्धमा लाग्नुपर्ने उनको धारणा रहेको छ । चाडपर्वका बेलामा मात्र नभएर अन्य महामरीको बेलामा समेत कर्पोरेशनले आम उपभोक्ताको सहजताका लागि चिनी लगायत अन्य खाद्य सामग्री समेत सहज र सहुलियत रुपमा उपलब्ध गराउँदै आइरहेको छ । कर्पोरेसनले चिनीको सहज आपूर्तीको प्रयास गरेसँगै आम उपभोक्तादेखि व्यापारीहरुले समेत त्यसलाई स्वागत गरेको उनी बताउँछन् ।

कर्पोरेसले सहुलियत मूल्यमा सहज रुपमा चिनीको उपलब्धता गरेसँगै सेवा लिनका लागि आम उपभोक्तादेखि व्यापारी व्यवसायी समेत सेवा लिन पुगेका छन् ।

यसरी चाडवाडका बेला कृतिम अभाव गराएर चिनीको आपूर्तीलाई बनाइएको असहजता केही हल हुँदै गएको देखिन्छ ।

चिनीका लागि साल्ट ट्रेडिङ कर्पोरेशनले गरेको कामको प्रसंशा गर्दै अझै त्यसलाई चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिन्छन् स्टोरअन द डोर प्रा.लि, सितापाइलाका प्रबन्ध निर्देशक अशोक ढुंगाना । त्यसको साथै सरकारले केही समय अघि देखि नै चिनीको आपूर्ती सहजताका लागि लागेको भए दसैँका बेला नै उपभोक्ताले सहज महसुस गर्न सक्ने उनी बताउँछन् ।

त्यस्तै, कर्पोरेशनले चिनी सहजताका लागि गरेको कामको प्रशंसा गर्दैै अझै वितरणलाई प्रभावकारी बनाउनुुपर्ने आम उपभोक्तादेखि व्यापारी व्यवासायीहरुको धारणा रहेको छ । कर्पोरेशनले वितरण गरेको चिनी लिन आएका अखण्ड ज्योती सप्लार्यस, चन्द्रागिरीका श्रीहरी थापा व्यवसायीहरुले पनि नाफा कमाउने भन्दा पनि आम उपभोक्ताको लागि सहजता प्रदानका लागि ध्यान दिनुपर्नेमा जोड दिन्छन् । साथै आगमी दिन चिनी लगायत खाद्य वस्तुको सहज आपूर्तीमा ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

कर्पोरेशनले गरेको कामले आम उपभोक्ताले सहज रुपमा चिनी पाए पनि त्यही चिनी बजारमा पुग्दा अन्य व्यापारीहरुले सरकारी मापदण्ड विपरित बेचिरहेको भन्ने केही उपभोक्ताको गुनासो समेत रहेको छ । कर्पोरेशनको वितरण प्रणालीबाट केही सहजता प्रदान गरे पनि बजार अनुगमन चुस्त हुन नसकेको चिनीका लागि कर्पोरेशन पुगेका अर्का व्यवसायी बालाजु बास्तोला स्टोरका खगराज शर्मा बास्तोला बताउँछन् । सरकारले गर्ने अनुगमनमा कडाइ गर्न सके मात्र आम उपभोक्ताले राहत सहसुस गर्ने सक्ने उनको तर्क रहेको छ ।

बजारमा सधैँ निजी क्षेत्र हाबी हुँदा आम उपभोक्तालाई सहजताका साथै असहजता पनि त्यतिकै छ । सरकारी संयन्त्रले राम्रोसँग काम गर्न नसकेको अवस्थाका कारण आम उपभोक्ता मारमा परिरहेका छन् । आगामी दिनमा निजी क्षेत्रले होस् या सरकारी संयन्त्रबाट गरिने वितरण प्रणालीमा सरकारले राम्रोसँग ध्यान दिन सकेमा आम उपभोक्तामा राहत पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?