पलिस्था र राहुल नगदसहित सम्मानित

काठमाडौं । राष्ट्रिय मुवाँथाइ संघ नेपालले १६ औँ मुवाँथाइ विश्व च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिवार नगदसहित सम्मान गरेको छ ।

थाइल्यान्डको बैंककमा मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ स्वर्ण र १ कास्य पदक जितेको थियो । 

पलिस्थाले १५ हजार तथा राहुलले १० हजार नगद पुरस्कारसहित प्रशंसा पत्रबाट सम्मानित भए ।

महिला क्याडेट ३० केजीमा पलिस्था कक्षपतिले नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । पलिस्थाले भारतकी खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । राहुलले पुरुष ५७ केजीमा कास्य पदक जितेका थिए । ब्राजिलका खेलाडीलाई हराउँदै राहुल सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उज्वेकिस्तानका खेलाडीसँग चुकेपछि राहुल कास्यमै सीमित भए ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का सदस्य–सचिव केशवकुमार विष्ट, मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच सम्मान गरे । सदस्य–सचिव विष्टले पदक विजेता खेलाडीलाई राखेपले पनि चाँडै नगदसहित सम्मान गर्ने प्रतिबद्धता जनाए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?