स्नुकर छनोट सोमवारदेखि शुरु हुने

काठमाडौं । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमवारदेखि शुरु हुँदैछ । 

छनोटमा साकुरा स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थानमा रहने खेलाडी तथा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ वरीयता गरी १६ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

साकुरा स्नुकरमा शीर्ष ८ मा रहने खेलाडीहरुमा निर्माण र अमिरसहित वाङछु चाप, विकेश राई, सञ्जय वज्राचार्य, उदिप शाक्य, आयुश गौतम तथा फुरी शेर्पा छन् । स्नुकर संघको वरीयतामा परेका खेलाडीमा राजन लामा, रेगन श्रेष्ठ, विकास श्रेष्ठ, सोम लामा, दीपक मगर, अमन कार्की, सुजेन शाही र मोती लामा छन् । यी आठ साकुरा स्नुकरमा सहभागी थिइनन् ।
    
स्नुकर संघका महासचिव केशवराज अधिकारीका अनुसार १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ । दुवै समूहको विजेताले ढाका यात्रा पक्का गर्ने छन् ।

ढाकामा प्रतियोगितामा जुलाई २१ देखि २७ तारिखसम्म सञ्चालन हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?