सेरेना मायामी ओपन टेनिसबाट बाहिरिन्,  पेट्रा किभिटोभा चौथो चरणमा प्रवेश

एजेन्सी । अमेरिकी सेरेना विलियम्स जारी मायामी ओपन टेनिस च्याम्पियनसिपबाट बाहिरिएकी छिन् । 

आठ पटककी च्याम्पियन सेरेनाले घुडामा चोट लागेपछि यो प्रतियोगिता त्यागेकी हुन् । उनले तेस्रो चरणको खेलमा स्विडेनकी रेबिका पिटरसनलाई पराजित गर्दै अन्तिम ३२ मा पुगेकी थिइन् ।

२३ पटककी ग्राण्डस्लाम च्याम्पियन सरेनाले वाकओभर दिएपछि चिनकी वाङग क्वाङग अघिल्लो चरणमा पुगेकी छिन् । यो सिजनमा उनले सात वटा खेल मात्र खेल्न सफल भएकी छिन् । 

उनले भनिन्, ‘आफनो भुमिमा भएको खेललाई बिचैमा त्याग्दा निक्कै दुःख लागेको छ, आशा गरौं अर्को वर्षको यो प्रतियोगितामा मेरो प्रदर्शन उत्कृष्ट रहने छ ।’ 

सन् २००२ मा उनले मायामी ओपन टेनिसको उपाधि जितेकी थिइन् । यो नै सेरेनाले आफ्नो खेल जिवनमा जितेको पहिलो उपाधि हो । उनले पछिल्लो पटक सन्  २०१५ मा अन्तिम पटक यो प्रतियोगिताको उपाधि जितेकी थिइन् । त्यस्तै सन् २०१७ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेयता सेरेना खासै राम्रो फर्म छैनन् । 

त्यस्तै शनिवार राति सम्पन्न भएको अर्को खेलमा जापानकी नाओमी ओसाका ताइवानकी सिएई सुवुईसँग ४-६, ७-६ र ६-३ को निक्कै प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरिन् ।

अब उनले चौथो चरणको खेलमा क्यारोलिन वज्नियास्की र मोनिका निकेलुसुसँगको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । यता विश्व नम्बर दुई पेट्रा किभिटोभाले क्रोसियाकी डोन्ना भेकिकलाई ६-४, ३-६ र ६-४ को सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरेकी छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?