विप्लव समूहलाई सहयोग गरे सरकारले कारबाही गर्ने, यसकारण प्रतिबन्धित नेकपामाथि कडा हुँदैछ सरकार

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेलाई कारबाही गर्ने बताएको छ । 

आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्धित विप्लव समूहलाई सहयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट पारेको हो । 

‘प्रतिबन्धित विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुन्छ ।’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

साथै जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्रतिबन्ध लगाएको दुई साता वित्न नपाउँदै विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ काभ्रेबाट पक्राउ परे । साथै उनीसहित ८ जना पक्राउ परेका हुन् ।

‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ विज्ञप्तिमा लेखिएको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?