मधेशमा तीन धारको राजनीति, राजपा र फोरमलाई फलामको चिउरा बन्दै राउतको पार्टी

काठमाडौं । गत फागुन २४ गते सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरेका सीके राउतका आगामी राजनीतिक यात्रा कस्तो होला ? यो सबैको चासोको विषय बनेको छ । के विखण्डनकारी भूमिकामा देखिएका उनीसँग सरकारले गरेको सहमतिको नतिजा सोचेअनुरुप आउला ? 

विगतमा स्वतन्त्र मधेशको मुद्दा बोकेर हिँडेका सीके राउत मूलधारको राजनीतिमा आएसँगै सर्वस्त्र उनको चर्चा चुलिएको छ । तराई–मधेशलाई छुट्टै राज्य बनाउनु पर्छ भन्ने धारणा बोकेर हिँडेका सीके राउत मूलधारको राजनीतिमा प्रवेश गरेसँगै अबको उनको यात्रा कस्तो हुने छ भन्ने प्रश्न धेरैको मनमष्तिस्कमा यतिबेला उठेको छ । 

यसैबीच यही चैत ३ र ४ गते सिरहाको लाहानमा बसेको राष्ट्रिय परिषद् बैठकले सीके राउतको नेतृत्वमा नयाँ पार्टी गठन गर्यो । पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरियो । बैठकले ‘जनताको हक र अधिकारका लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्ने’ निर्णय गर्यो । 

यो सँगै तराई–मधेशको राजनीतिमा अर्को एउटा दल थपिएको छ । यतीबेला तराई–मधेश सीके राउतसँगै नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमका साथै पूर्वराजा ज्ञानेन्द्र शाह मधेश केन्द्रीत छन् भने राजपा र फोरमको तराई–मधेशमा संघीय सरकार छ । 

मधेशको राजनीतिमा वैधानिक रुपमा अर्को पार्टी स्थापनाले स्वाभाविक रुपमै आगामी दिनमा प्रतिस्पर्धा बढ्ने निश्चित छ । तराई–मधेशमा एकलौटी रजगज गरेको राजपा र सरकारमा जाँदै पावर सो गरिरहेको फोरम, सीके राउतको उपस्थितिले झस्किएका छन् । 

राउतको दल आउँदो दिनमा राजपा र फोरमको प्रतिस्पर्धाका रुपमा आउने सम्भावना देखिएको छ । यसका लागि राउतले सरकारसँग गरेको सहमतिलाई नियम अनुसार पालना गर्नुपर्ने देखिन्छ । 

के गर्दै छन् सीके राउत ?

मधेशमा करिब पाँच वर्ष गतिविधि गरेका सीके राउत कम्प्युटर वैज्ञानिक, लेखकका साथै राजनीतिक नेता पनि हुन् ।

सीके राउतले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारसँग भएको ११ बुँदे सहमति तथा मधेशी जनता र परम्परागत दलबीचको स्पेसबारे सम्झाउन सके आगामी दिनमा तराई–मधेशको राजनीतिमा राउत स्थापित हुनसक्ने सम्भावना अत्याधिक छ । साथै मधेशमा तीन धारको राजनीति हुने भएको छ । 

संघीय समाजवादी फोरम र राजपाका लागि राउतको पार्टी फलामको चिउरा बन्ने सम्भावना छ, राउतले अबको आफ्नो राजनीति कसरी अघि बढाउँछन् भन्ने कुरामा भर पर्छ । 

सीके राउत सरकारसँग सहमति गरेको तीनदिनपछि प्रदेश २ को राजधानी जनकपुरधाम पुग्दा राउतका समर्थकमा जुन प्रकारको रवैया देखियो त्यसले सबै आश्चर्यमै परे । पुरानै नारा, स्वतन्त्र मधेश लेखिएको झण्डा बोकेर आफ्नै सुरक्षागार्ड बोकेर नाराबाजी गर्दै जनकपुर विमानस्थल पुगेका राउतका नेता तथा कार्यकर्तालाई देख्दा एक पटक फेरी राजनीतिक दलहरुबीच सीके राउतको रवैया प्रति आशंका नै उत्पन्न भयो । आशंका मात्रै होईन एक प्रकारले तरंग नै आयो । 

सीके राउतप्रति सत्तारूढ दलका नेता, विपक्षी दल र सामाजिक सञ्जालमा पनि तीव्र असन्तुष्टि प्रकट भए ।

यस कुरालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नै तरिकाले विश्लेषण गरे । 

‘कार्यकर्तासम्म आफ्नो कुरालाई सम्प्रेषण गर्न नसकेकाले पुरानो नारा लगाएको हुन सक्छ,’ गृहमन्त्री बादलको निष्कर्ष छ ।  

यसैबीच लोकपथसँगको फोन सम्पर्कमा जनमत पार्टीका प्रवक्ता अब्दुल खानले सरकारसँग गरेको ११ बुँदे सहमति अनुसार नै अगाडी बढ्ने बताएका छन् । 

उनले सीके राउत हाल जनपुरधाममै रहेका र आगामी राजनीतिक विषयमा केन्द्रीत रहेर पार्टीको विधान, पार्टी दर्ताका छलफलमा व्यस्त रहेको जानकारी दिए । 

‘तराई–मधेशमा मात्र केन्द्रीत नभएर हरेक क्षेत्रबाट नयाँ राजनीतिक यात्र शुरु गर्नेछौं । उनले भने, ‘स्वतन्त्र मधेशको नारा त्यागेका छौँ, बाटो अलि अप्ठेरो नै छ, फोरम–राजपाको बाटोमा हिँड्नुपर्दा चुनौती थपिएको छ, गाह्रो छ ।’

साथै उनले अबको केही दिनमा काठमाडौं आएर पार्टी दर्ताको प्रक्रिया अगाडी बढाउने र आफूहरुको राजनीतिक यात्राको थालनी गर्ने बताए । 

‘हामीले जनताकै नामबाट जनमत पार्टी राखेका हौं’ उनले भने । खानले जनताको अधिकार केन्द्रमा राखेर अगाडी बढ्ने र जनताकै नाममा जनमत पार्टी गठन गरेको बताए । 

यसैबीच नेकपा प्रदेश २ का इञ्चार्ज एवं संसदीय दलका नेता सत्यनारायण मण्डलले लोकपथसँग भने, फोरम र राजपा विगतदेखि नै सत्तामा रहिसकेकाले राउत त्याग र इमान्दारीका हिसाबले उनीहरूभन्दा हाबी हुन सक्ने बताएका छन् । 

साथै कतिपय विज्ञहरुले सरकारसँग भएका ११ बुँदे सम्झौतापत्रको २ नम्बर बुँदामा सरकार पक्षले जनअभिमत भनिरहँदा सीके राउतका कार्यकर्ताले जनमतसंग्रहका रूपमा प्रचार प्रसार गरिरहेको गुनासो गरेका छन् । 

‘दुई नम्बर बुँदाबारे सरकार र सीके राउतले समयमै स्पष्ट पार्नुपर्ने बताएका छन्, नत्र भविष्यमा यो विषय निकै जटिल हुन सक्ने विश्लेषकहरुले बताएका छन् ।  

अखण्डता, राष्ट्रियता, संविधान मान्ने सम्झौता भइसकेपछि उनका कार्यकर्ताले जनकपुरधाममा किन स्वतन्त्र मधेश र जनमतसंग्रहको नारा लगाए विज्ञहरुको प्रश्न छ । 

राणा कालदेखिनै तराई–मधेश राजनीति घेराबन्दीका साथै राजनीतिक दलहरुको सिकार भइरहेका छन् । मधेशमा धेरै राजनीतिक दलहरुले राजनीतिक गरे तर, मधेश जहाँको तही छ । मधेशी नागरिकका पीडा यथावत् नै छन् । 

अबका दिन तराई–मधेशमा विध्वंस राजनीति हैन, समृद्धिको बाटोमा लाने व्यक्ति चाहिएको छ ।

योसँगै आगामी दिनमा तराई–मधेशको राजनीतिमा कसको पकड मजबुत हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?