कमिशन मागेको आरोपमा कालोमोसो

काठमाडौं । डोटीको जिल्ला शिक्षा समन्वय विकास इकाईका प्रमुख जिल्ला शिक्षा समन्वय अधिकारी अनन्तकुमार पौड्याललाई कालोमोसो दलिएको छ । विद्यालय भवन निर्माणको बजेटमा कमिशन मागेको भन्दै नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताको एक समुहले पौडेललाई कालोमोसो दलेको जनाएको छ । 

कालोमोसो दलिसकेपछि एक प्रेस विज्ञेप्ती जारी गर्दै नेपाल विद्यार्थी संघका आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझाले विद्यालय भवन निर्माण, मर्मत तथा शौचालय निर्माणमा कमिशन माग गरेको लगायतका विभिन्न ९ वटा आरोप लगाएका छन् । ओझाकै नेतृत्वमा गएको टोलीले कालोमोसो लगाएको हो । 

विज्ञप्तीमा योजनाहरुमा आफन्तको माध्यमबाट १० प्रतिशत कमिशन माग गरेको, विव्यसको अधिकारक्षेत्र भित्र रहेको करार शिक्षक नियूक्ती आफु मातहतमा ल्याएर ४ महिनासम्मको तलब लिदै शिक्षक नियूक्ती गर्ने गरेको, कमिशन रकम उठाउन श्रीमती चन्द्रमाया कोईरालाई र छोरा अरूण पौडेलको नाममा रहेको बैंकखाता विद्यालयका प्रधानाध्यापकहरुलाय बाँडेको लगायतका आरोपहरु लगाईएका छन् । 

‘म नै विव्यस अध्यक्ष रहेको विद्यालय(नमादेव आधारभूत विद्यालय आदर्श–२ साउँदकाँडा)मा निर्मित भवनमा कमिशन मागेपछि उनको यो हर्कतबारे जानकारी पाएको हुँ,’ नेविसंघका आमन्त्रित केन्द्रीय सदस्य ओझाले भने,‘पछि बुझ्दैजाँदा उनको हर्कतले पूरै शिक्षक र प्रधानाध्यापक त्रसित भएको भेटेपछि यो(कालोमोसो)को कदम उठाएका हौ ।’ 

उनका अनुसार नमादेव आधारभूत विद्यालयका लागि भवन मागगर्दा नै जिशिअ पौडेलले ‘हामीलाई पनि सम्झिए भवन पार्न सकिन्छ’ भनेका थिए । ‘त्यतिबेला भवन त पारौ भनेर कुटनीतिक पारामा मैले ‘हुन्छ’ भनेपछि मात्र गतआर्थिक वर्षमा १६ लाखको दुई कोठे भवन पारियो,’ ओझाले भने,‘त्यसपछि असारमा सम्पन्न भएको कामको कमिशन नपाएपछि अन्तिम मूल्यांकन प्रतिबेदन तयार पार्न प्राबिधिक पठाएका छैनन् ।’ यसक्रममा प्रधानाध्यापक कुलप्रसाद ओझा र आफुसँग पटक–पटक कमिशन माग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?