आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी

काठमाडौँ- प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए ।

खेलाडी बाहेक एनआरएनएबाट दुई प्रशिक्षक र चार निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुने छन् । सबैभन्दा बढी करातेमा १२ खेलाडी छन् । पुरुषतर्फ करातेमा युएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७औँ इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्ने छिन् । फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षक भूषण बज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने छन् ।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् । वृहत राष्ट्रिय खेलकूदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौँ राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय (आर्मी÷प्रहरी÷एपिएफ) गरी ११ टिमको सहभागिता रहने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?