काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान् पर्वको रुपमा मनाइने तिहार पर्व सुरु भइसकेको छ ।
तिहारमा विशेषगरी काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ । उसो त यतिबेला देश नै तिहारको रमझममा झुमिसकेको छ । सामान्य नागरिकदेखि सेलिब्रिटी छबी बनाएका मानिसहरु तिहारको रमझममा रमाइरहेका छन् । यही फेरोमा हामीले नेपालका खेलाडीहरुको तिहार योजनाका बारेमा यहाँ प्रस्तुत गरेका छौँ ।
मिलन विक्रम सिजापति
मलाई तिहार एकदम मनपर्छ । दसैँ भन्दा पनि मलाई तिहार निकै मनपर्छ । चारैतिर झिलिमिली हुन्छ । फुलहरु फुलेका हुन्छन् । सेलरोटीको बास्ना चारै तिर छाएको हुन्छ । काटमार हुँदैन । यस्तै कारणहरुले पनि हो मलाई तिहार मन पर्ने । यसपाली म तिहारका लागि हेटौँडा जाँदै छु । मेरो दिदी हेटौँडामा बस्नुहुन्छ । त्यसैले दिदीको हातको टिका थाप्न हेटौँडा जाने योजनामा छु ।
तिहार भन्ने बित्तिकै तिहार सम्झन्छु । निकै रमाइलो हुन्थ्यो त्यति बेला । महिनौँ अघिदेखि देउसी भैलोको योजना गरिन्थ्यो । गीतहरु लेखिन्थ्यो । झोलाका झोला चामल धानहरु उठ्थ्यो । पछि त्यो धान चामल लिएर पिकनिक जान्थ्यौँ । बढी भएका चमलहरु बेच्थ्यौँ । धेरै रमाइलो हुन्थ्यो ।
पटका पड्काउन पनि साह्रै रमाइलो लाग्थ्यो । पहिले अहिलेको जस्तो पटका पड्काउने चलन पनि थिएन अहिले जमाना फरक भयो । अहिले ठूला–ठूला आवाजको पटका पड्कायर मानिसको सात्तो लिनेसममको अवस्था देखिन्छ भने हाम्रो पालामा एकदमै रमाइलो ढंगले मनाउने गथ्र्यौँ ।
चाडवाड भनेको एक अर्कालाई जोड्ने माध्यम पनि हो सारा दुःख भूलर एक आपसमा दुःखसुख साट्ने भेटघाट गर्ने समय हो । त्यसैले म तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
विकास थापा, भारोत्तोलन खेलाडी
यस पटकको तिहारमा घर जाने योजनामा छु । दिदीको हातबाट टिका लगाउने प्लानमा छु । खेलाडी र आफ्नो यो पेशा भएपछि भनेको बेला छुट्टी नपाइने रहेछ । पोहोर सालको तिहारमा पनि ७–८ वर्षपछि दिदीको हातबाट टिका लगाएको हुँ । अब यसपटकपनि टिका लगाउने आशा गरेको छु । टिका लगाउन निजगढ जान्छु ।
मलाई दसैँ तिहार दुवै नै बढी मनपर्छ तर तुलनात्मक रुपमा भननुपर्दा चाही तिहार भन्दा दसैँ नै धेरै रमाइलो लाग्छ सायद दसैँमा धेरै दिनको बिदा हुनेभएर पनि होला । तिहारको पनि आफ्नै महत्व आफ्नै विशेषता छ । जताहेर्यो त्यता झिलमिीली हुन्छ । देउसी भैलो खेल्ने, सेल रोटी पकाउनेदेखि विभिन्न कुराहरु हुन्छन् ।
म सम्झन्छु हामी सानो हुँदा धेरै रमाइलो हुन्थ्यो तिहारमा आफ्ना मन मिल्ने साथीहरु मिलेर देउसी भैलो खेल्न जान्थौँ भागमा ५/७ रुपैया पर्दा संसार जितेको जस्तो हुन्थ्यो । भाइमसलाहरु खन पाइन्थ्यो । म के गर्थे भने टिका लगाएपछि भाइमसला जोगाएर राख्थे । भन्नाले तिहार पछि स्कुल खुल्ने बेला सम्म जोगाएर राख्थे अनि पछि साथीहरुसँग स्कुलमा ब्रेक टाइममा भाइ मसला खान्थ्यौँ । धेरै रमाइलो हुन्थ्यो ।
अञ्जन विष्ट, फुटबलर
तिहारमा यसपाली क्लोज क्याम्पमै हुन्छौँ । चाडपर्वमा घरपरिवारसँग नहुँदा केही खल्लो त लाग्छ नै तर पनि देशको लागि समर्पित भएका हामीहरुलाई चाडपर्व भन्दा पनि धेरै महत्व खेलको हुन्छ ।
तिहारमा क्याम्पमै बसेर साथीहरु रमाइलो गर्ने प्लानमा छौँ । चाडपर्वको निकै ठूलो महत्व हुन्छ । खेलकुदमा नलाग्दा त दसैँ तिहारको धेरै नै महत्व हुन्थ्यो । यसरी तिहार आइरहेको समयमा घरसफ गर्ने, घरमा झिलिमिली बत्ती हाल्ने, देउसी खेल्ने गथ्यौँ । को–को टिम मिलेर खेल्न जाने भन्ने प्लान हुन्थ्यो । कुन घरमा राम्रो दक्षिणा दिन्छन भनेर छानी छानी खेल्ने गथ्र्यौँ । धेरै रमाइलो हुन्थ्यो । सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई शुभ दिपावलीको शुभकामना भन्न चाहन्छु ।
दीपक विष्ट, तेक्वान्दो खेलाडी
यस पटकको तिहार अरु बेलाको भन्दा छुट्टै र पृथक त केही पनि छैन । सामान्य हिसावमा नै मनाउने हो । तिहारमा काठमाडौंमा नै हुन्छु । आफ्नै दिदी बहिनी नभएका कारण ठूलोबुबा काकाको छोरीको हातबाट टीका लगाउँछु । घरमा आयशाले मह पूजा गर्छिन् । त्यसैको व्यवस्थापन लगायतमा व्यस्थ रहनेछु । देउसी भैलो हामी सानो हुँदा खेल्न जाने गरेका थियौ । कोही देउसी खेल्न आए जमेरै घरमा खेल्ने प्लान छ ।
जाजरकोट र बाजुरामा गएको भूकम्पका कारण त्यता धेरै जनधनको क्षति पनि भएको छ । कलाकारहरुको एक टिमले देउसी भैलो खेलेर भूकम्पको पीडितहरुलाई राहत सहयोग गर्ने भनेर प्रस्ताव गर्नुभएको छ । सोही देउसीमा सहभागी हुनेछु । साथै जो जोले यो पढिरहनु भएको छ । उहाँहरुलाई के भन्न चाहन्छु भने तिहारमा तास जाड रक्सी मा गर्ने खर्च यसपटक भूकम्प पिडितहरुको राहतमा दिनु होला किन भने सेवा नै घर्म हा । अहिले देशको एउटा क्षेत्रको मानिसहरु निकै दुःखमा हुनुहुन्छ । हामीले सकेको सहयोग गर्नुपर्छ ।
साथै, सम्पूर्ण नेपालीहरुमा दिपावलीको धेरै–धेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया