नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर, नेपाली कामदारलाई जापान जान खुल्यो बाटो

काठमाडौं । जापानमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा सोमवार सरकार र जापानी पक्षीबीच समझदारी (एमओसी)मा हस्ताक्षर भएको छ।  

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा सोमवार आयोजित विशेष कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानको परराष्ट्र मन्त्रालयका अधिकारीबीच श्रमिक आपूर्ति गर्ने विषयसम्बन्धी सहकार्यको समझदारीमा हस्ताक्षर गरियो । सो क्रममा श्रममन्त्री गोकर्णविष्ट समेतको सहभागिता रहेको थियो ।

अब नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया शुरु हुनेछ । जसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तर्गत छुट्टै इकाई खडा गर्ने छ । योसँगै अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुने भएको छ । 

नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् ।

दुवै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षालगायतका विषयमा टुंगोमा पुगेका हुन् । नेपाली कामदारको सेवा सुविधा जापानकै नागरिक सरहको हुने छ ।  

लागतको विषय भने नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । 
अप्रिल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुने मन्त्रालयले जनाएको छ । 

आज दुई देशबीच समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको शुरु गरिने छ ।

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?