निर्मला बलात्कारपछि हत्या प्रकरण : डिएसपी अंगुर जिसी न्यायिक हिरासतमा

कञ्चनपुर । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का तत्कालिन डिएसपी अंगुर जिसीलाई जिल्ला अदालतले न्यायिक हिरासतमा राख्न निर्देशन दिएको छ ।  

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको अनुसन्धानका क्रममा अत्यावश्यक प्रमाणहरु नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डिएसपी जिसी सोमवार अदालतमा उपस्थित भएका थिए । 

उनको बयान आज नसकिएपछि  अदालतले न्यायिक हिरासतमा पठाएको हो । 

गत फागुन २६ गते जिसीलाई उपस्थित हुन ३५ दिने सूचना अदालतले दिएको थियो । उनी १६औँ दिनको दिन आज अदालतमा हाजिर भएका हुन् । 

यसैबीच गत मंगलवार जिल्ला अदालत कञ्चनपुर उपस्थित भएका तत्कालिन एसपी दिल्लीराम विष्टलाई आइतवार जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश थिएको थियो ।

उनलाई न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यातना र कसुरमा ६ लाख र प्रमाण नष्टमा साढे ४ लाख गरी जम्मा साढे १० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

यसबीच सरकारले पटक–पटक अभियुक्त भन्दै फरक–फरक अनुहार सार्वजनिक गरेतापनि अपराधीलाई भने कानूनको कठघरामा ल्याउन सिंगो प्रशासन असफल भएको छ । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । 

निर्मलाको बलात्कारपछि हत्या भएको ९ महिना पूरा भएर १० औँ महिनामा लागेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?