स्नुकर छनोट सोमवारदेखि शुरु

काठमाडौं । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमवारदेखि जमलस्थित साकुरा स्नुकर क्लबमा शुरु भएको छ ।

नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले आयोजना गरेको छनोटमा शनिबार सम्पन्न प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थान हात पर्ने र स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ स्थानका गरी १६ खेलाडी सहभागी छन् । 

यी १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा भइरहेको छ । नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइने छ । दुवै समूहको विजेताले ढाकामा जुलाई २१ देखि २७ तारिखसम्म हुने च्याम्पियनसिपलाई छनोट हुने छन् ।
    
पहिलो दिन सोमवार ४ खेल सम्पन्न भए । त्यसमा स्नुकर संघको वरीयतामा परेका ३ खेलाडीले जित हात पारे ।

रेगन श्रेष्ठले साकुरा स्नुकर च्याम्पियनसिपका उपाधि विजेता निर्माण बोगटीलाई ५–४, सुजेन शाहीले सञ्जय वज्राचार्यलाई ५–१, विकेश राईले मोती तामाङलाई ५–३ र अमन कार्कीले उदिप शाक्यलाई ५–१ को फ्रेममा पराजित गरे । विजयी ३ खेलाडीका साथै पराजित मोती संघको वरीयता प्राप्त खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?