विप्लवका नवलपरासी इञ्चार्जसहित दुई जना घरबाटै पक्राउ

काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला इञ्चार्जसहित दुई जना पक्राउ परेका छन् । 

प्रहरीले उनीहरुलाई सोमवार राति पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा नेकपाका नवलपरासी इञ्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनिया रहेका छन् । उनीहरुलाई प्रहरीले राति घरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन रानाभाटले जानकारी दिए ।

तत्कालीन माओवादी केन्द्रको नवलपरासी जिल्ला कार्यालय सचिव सुमनले प्रचण्ड नेतृत्वको पार्टीमा आएको विभाजनमा वैद्यलाई साथ दिएका थिए । पछि विप्लवले पार्टी फुटाएपछि उनी त्यसमै सक्रिय थिए ।

पक्राउ परेका नेकपाका जिल्ला सदस्य मर्दनिया  कावासोती १५ शेरगञ्जका हुन् । यसैबीच, सरकारले विप्लप नेतृत्वका नेकपालाई प्रतिबन्ध लगाएपछि नवलपुरमा सुरक्षा व्यवस्था कडा बनाएको छ । 

८ वटा स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर जिल्लामा अधिकांश स्थानीय तहका साथै सरकारी कार्यालयहरुमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?