पर्यटकीय गन्तव्य बन्दै रानी झरना, प्रचार-प्रसार नहुँदा ओझेलमा

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ ।

प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करिब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचार-प्रसार हुन नसक्दा ओझेलमै रहेको थियो । 

करिब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर हरियाली जङ्गलको बीचमा भागमा रहेको झरना क्षेत्रमा पुग्दा शान्त र प्राकृतिक रूपमा आनन्द मिल्छ । चैत वैशाखको गर्मी महीनामा अझै झरना र पोखरीमा नुहाउनेको भीडभाड लाग्छ । प्राकृतिक रूपमा मनोरम रहेकाले आन्तरिक पर्यटक त्यहाँ पुग्न रुचाउन थालेको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । 

आन्तरिक गन्तव्यका रुपमा रानी झरनाको सम्भावना देखिएपछि यस क्षेत्रमा भौतिक पूर्वाधारको विकास गरी थप चहलपहल ल्याउन आवश्यक देखिएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ । आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको रानी झरनामा स्थानीय सरकारले भौतिक संरचना निर्माणमा चासो दिएको छ । 

वडाले पर्यटन पहुँचमार्ग, आकाशे पुल, वनभोजस्थल निर्माणलगायतका भौतिक संरचनाको विकास गरी पर्यटकीय गन्तव्य बनाउन थालेको वडाध्यक्ष राजेश श्रेष्ठले बताए । चालू आर्थिक वर्षमा काम हुने गरी वडाबाट  दुई लाख बजेट विनियोजन गरी काम अघि बढेको छ ।

रानी झरनास्थलमा भौतिक संरचनाको विकास गरेपछि पर्यटकीय चहलपहल हुने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थल हुनेछ । 

गाउँपालिका क्षेत्रभित्र रहेको झरनामध्ये नै रानी झरना निकै आकर्षक रहेको र यसलाई थप प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खाँचो रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । स्थानीय बासिन्दाका अनुसार पहिला–पहिला राजारानी रानी घुमफिर गर्ने क्षेत्रमा रहेको गाउँपालिका अध्यक्ष घर्तीले बताए । 

घुमफिर गर्ने क्रममा रानी झरनाबाट पोखरी झरी मृत्यु भएको भन्ने भनाइ रहेको पाइन्छ । तर रानी झरनाको विषयमा स्थानीय बासिन्दाबाट प्रचार—प्रसार हुन नसक्दा पर्यटकीय गन्तव्यको सम्भावना बोकेको यस क्षेत्र ओझेलमा परेको देखिन्छ ।

प्राकृतिक रूपमा सुन्दर, ढुङ्गामा पोखरी रहेको यस झरना क्षेत्र निकै आकर्षक रहेको घर्तीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?