नेपाल सरकारले गरेका घोषणाहरुमा केही बाहेक सबै विवादित नै हुन्छन् ।
पानी जहाज र पछिल्लो समय नेत्रचन्द विप्लवलाई प्रतिबन्ध गर्ने निर्णयको चौतर्फी आलोचना भइरहेको छ ।
तर, त्यस्ता केही निर्णयहरु पनि छन् जो एकदमै प्रशंसा योग्य छन् ।
नो हर्न अभियान !
प्लास्टिक फ्रि जोन !
स्र्माट काठमाडौं !
हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी !
यी केही अभियानहरुका नाम हुन् जो समय सान्दर्भीक र तारिफ योग्य थिए । नेपाल सरकारका सम्बन्धित निकायहरुले खुब तारिफ पनि बटुले । केही समयपछि जनताले प्रश्न गर्न थाले किन कार्यान्वयन भएन बनाइएका ति नियमहरु ?
किन हरेक पल्ट चुक्छ सरकार ?
व्यवस्था दोषी हो कि बेथिति ? यी प्रश्नहरु सडकमा मात्र सिमित भएनन् । सदनमा चर्काचर्की नै चल्यो ।
सुन्दर परिकल्पना गर्ने सरकार कार्यान्वयन किन गर्दैन बनाइएका नियमहरु ?
निर्देशनपालना भइरहेका छन् कि छैनन् ?
प्रगती विवरण के छ हामीलाई दिनुहोस् ?
सरकारका सम्बन्धित निकायका मन्त्रीहरु घेरिन्छन् यस्ता प्रश्नहरुबाट र उत्तर आउँछ ‘सरकार त्यसतर्फ गम्भीर छ धैर्य गर्नुहोस् !’
त्यसैगरी चैत्र १० गते आइतवार राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठकमा यी नै बग्रेल्ती सान्दर्भिक प्रश्नहरुको बिचमा घेरिए, वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत ।
२०७१ साल चैत १८ गते “नेपाल सरकारले वतावरण संरक्षण ऐन २०७४ ले दफा ७ को उपदफा ३ ले दिएको अधिकारको प्रयोग गरी काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र प्रदुषणमुक्त बनाउने उद्देश्यले २०७२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी सूचनामा तोकिएका क्षेत्रहरुमा २०×३५ इञ्च साइज र ४० माईक्रोन मोटाईसम्मका प्लास्टिकका झोलाहरुको आयात, भण्डारण, बिक्री वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ” भनेर सूचना राजपत्रमा प्रकाशित भयो ।
नेपाल सरकार, तत्कालीन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचना कार्यान्वयनमा नआई बजार र सडकका पेटीहरुमा खुल्लमखुल्ला बिक्री वितरण र प्रयोग भई वातावरणमा प्रदूषण बढाइरहेकोले उक्त सूचनाको प्रभावकारी कार्यान्वयन र अनुगमनको अवस्थाको जानकारी गराउन वन तथा वातावरण मन्त्रीको ध्यानाकर्षण गराउन सांसद डा. विमला राई पौड्याल, रामनारायण विडारी र कालीबहादुर मल्लबाट संयुक्त रुपमा ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका थिए ।
संसदमा बोल्दै डा. विमला राई पौड्यालले ध्यानाकर्षण प्रस्ताव गर्नुपर्ने थुप्रै कारणहरुमध्ये एउटामात्रै कारण जताततै प्लास्टिक भएको बताइन् ।
“बाटोमा जता हे-यो, खोलमा हे-यो, फोहोरका थुप्रोमा हे-यो प्लास्टिकका झोलानै झोला छन्”
“बाटोमा जता हे-यो, खोलमा हे-यो, फोहोरका थुप्रोमा हे-यो प्लास्टिकका झोलानै झोला छन्” पौड्यालले भनिन्, “एक पटकमात्रै प्रयोग गरेर फालिने खालका प्लास्टिकका झोला ।”
काठमाडौंको प्रदूषणको एकमात्र ठूलो हिस्सा प्लास्टिकको झोला भएको भन्दै काठमाडौं उपत्यका लगायतका अन्य शहरहरु पनि प्रदूषणको उच्च जोखीममा रहेको उनले बताइन् ।
जलवायु परिवर्तानसँग जोड्दै उनले भनिन्, “प्लास्टिकको प्रयोगले जलवायु परिवर्तनलाई छिटो बढावा दिन्छ ।” जलवायु परिवर्तनको जोखिममा नेपाल पनि पर्छ उनले थपिन् ।
संसारका थेरै देशहरुले सरकारहरुले यस्ता झोलाहरुको प्रयोगमा अगाडीनै प्रतिबन्ध लगाएको भन्दै इलामको उदहारण दिँदै उनले भनिन्, “इलामको जनताहरुले आफैँ प्रतिबन्ध लगाएको पाए र राम्रोसँग कार्यान्वयन भएको पनि पाए मैले ।”
“घट्दो होइन, बढ्दो छ ।”
काठमाडौंमा विशेष गरि यसको प्रयोग दिनदिनै बढ्दै गइरहेको छ । भनिन्, “घट्दो होइन, बढ्दो छ ।”
राजपत्रमा प्रकाशित भएको सूचना पढेर सुनाए पश्चात उनले क्रमशः भनिन्, प्रकाशन भयो कार्यान्वयमा किन आउन सकेन ? कि त सूचना हामीले खारेज गरेका छौं भन्न प¥यो ? कि त सूचना प्रकाशन भएपछि कार्यान्वयन गर्नुप-यो ।
काठमाडौं उपत्यकामा १० लाख झोलाहरु एक पटक मात्रै प्रयोग गरेर फालिने अनुसन्धानले देखाएको छ । १० लाख प्लास्टिकका झोलाहरुले जम्मा भएका फोहोरहरु मध्य ११ प्रतिशत ठाउँ ओगटेको हुन्छ । नेपालमा प्रत्येक दिन २ सय ४ टन मात्रै प्लास्टिकका फोहोरहरु थुप्रने तथ्यांक रहेको छ भने ४ सयदेखि ५ सय वर्ष ती प्लास्टिकहरुलाई कुहिनको लागि समय चाहिन्छ ।
काठमाडौं उपत्यकामा १० लाख झोलाहरु एक पटक मात्रै प्रयोग गरेर फालिने अनुसन्धानले देखाएको छ । १० लाख प्लास्टिकका झोलाहरुले जम्मा भएका फोहोरहरु मध्य ११ प्रतिशत ठाउँ ओगटेको हुन्छ । नेपालमा प्रत्येक दिन २ सय ४ टन मात्रै प्लास्टिकका फोहोरहरु थुप्रने तथ्यांक रहेको छ भने ४ सयदेखि ५ सय वर्ष ती प्लास्टिकहरुलाई कुहिनको लागि समय चाहिन्छ ।
रिडियूस, रि–यूज र रिसाइकलको तर्फ ध्यान दिन सरकारलाई आग्रह गर्दै प्लास्टिकको उत्पादनमा नियन्त्रण गर्नका लागी के गर्न सकिन्छ ? भनेर प्रश्न गरिन् ।
उत्तर दिने पालो आयो वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको ।
बस्नेतले वि. सं २०६८ को निर्देशिका अनुसार देशैभरी ३० माइक्रोनभन्दा तलका र पछिल्लो समयको राजपत्रमा प्रकाशित भएअनुसार काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा तलका प्लास्टिकको झोलाहरु प्रतिबन्धित गर्ने भन्ने व्यवस्था रहेको पुनः जानकारी गराए ।
मन्त्रीले हाँस्दै सरकारको ध्यानाकर्षण भएको जानकारी दिए ।
प्लास्टिकको प्रयोगमा बढेको की घटेको भन्नेमा थप अनुसन्धानको आवश्यकता रहेकोभन्दै बढेकोभन्दा केही घटेको हुनसक्ने उनले दाबी गरे ।
“वैकल्पिक माध्यमहरुको प्रयोगका लागि प्रवर्धन र प्रचारहरु भइरहेका छन् ।”
काठमाडौं उपत्यकाका १९ वटा ठाँउहरुमा कारवाही र जरीवाना लागू भएको भन्दै थपे, “वैकल्पिक माध्यमहरुको प्रयोगका लागि प्रवर्धन र प्रचारहरु भइरहेका छन् ।”
उत्पादनको बारेमा पनि नियमहरु बनाइएको र प्लास्टिक सकेसम्म न्यून रुपको प्रयोग गर्ने वातावरणको सिर्जना गर्ने उनले बताए । फोहोर मैला व्यवस्थापनको निम्ती पनि सरकार गम्भीरता पूर्वक लागेको र थप प्रभावकारी कामहरु गर्ने प्रतिबद्धता जनाए ।
प्लास्टिकको झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न, घरबाट बाहिर निस्किँदा सामान बोक्नका लागि वैकल्पिक झोला बोकेर लैजान, खुला रुपमा बेचिने चिनी, तरकारीलगायतका सामान खरिदबिक्री गर्दा कपडा वा अल्लोका झोला तथा बट्टा प्रयोग गर्नसमेत उपभोक्ता र व्यापारीलाई सरकारले आग्रह समेत गरिएको थियो ।
प्रतिबन्धपछि प्लाष्टिकका झोलाको विकल्पमा सुतीका झोला र कागजमा पोको पारेर सामान बेच्ने क्रम शुरु भएको थियो । त्यसले पनि निरन्तरता पाएन । नेपालमा करिब चार सय प्लास्टिक उद्योग छन् तीमध्ये कुनैले प्लास्टिक उत्पादन बन्द र विकल्पका लागि सरकारी सुविधा लिएका छैनन् ।
यी हुन् प्लास्टिकका झोला प्रतिबन्धित देश
सन् २००२ मा बंगलादेशले प्लास्टिकका झोला प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । प्लास्टिकका झोला प्रतिबन्ध गर्ने बंगलादेश पहिलो देश पनि हो । नेपालको छिमेकी राष्ट्र चीन, इजरायल, दक्षिण अफ्रिका, नेदरल्याड, मोरक्को, केन्या, रुवाण्डा, मौरिनीया, श्रीलंका, पपुवा न्यू गिनी, भानुवाटु, अल्वानीया, जर्जिया, न्युजील्याण्डले पनि प्लास्टिकका झोलामा प्रतिबन्ध गरे । ति राष्ट्रहरुमा उत्पादन, वितरण र प्रयोगमा यि तीनै तहहरुमा प्रतिबन्ध गरिएको छ ।
प्लास्टिकको आयु
एउटा प्लास्टिकको झोला बनाउनको लागि १२ मिनेट लाग्छ भने कुहिनको लागि ५ सय वर्ष ।
प्लास्टिकको बोतलः ४५० वर्ष
डिस्पोजेबल डायपरः ५०० वर्ष
प्लास्टिक ट ६ प्याक कलरः ४५० वर्ष
निकासी पोलिस्टियरेन फोमः करिव ५००० वर्ष
वातावरणविद् औँल्याउँछन् यस्ता खतरा
संसारमा हरेक देशका हरेक घरको झ्यालदेखि भान्सामा तरकारी ल्याउन सम्म प्लास्टिकको प्रयोग गरिने वातावरणविद् अन्जु शाह सिंह बताउँछिन् ।
महिला वातावरण समूहको अध्यक्ष सिंह २५ वर्षदेखि वतावरणको क्षेत्रमा काम गर्दे आइरहेकी छिन् ।
“प्लास्टिकको प्रयोगमा रोक लगाउन नै त सकिँदैन तर त्यसको विकल्प खोज्न सकिन्छ ।”
“प्लास्टिक वातावरण प्रदूषणको सबै भन्दा ठूलो कारक हो” सिंहले भनिन्, “प्लास्टिकको प्रयोगमा रोक लगाउन नै त सकिँदैन तर त्यसको विकल्प खोज्न सकिन्छ ।”
आज भन्दा ३०/४५ वर्ष अगाडि प्लास्टिकको झोलाहरुको प्रयोग नहुने सिंह बताउँछिन् । वातावरणसँग सम्बन्धित निकायहरुको स्थापना भएपछि यस्तो समस्याहरु बढि भएको उनको भनाइ छ ।
“नीति, नियम, ऐनहरु प्रशस्तै बनेका छन् तर ति कार्यान्वयनमा आउन सकेका छैनन् ।” भन्छिन्, “कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बनेको हो ।”
“कार्यान्वयन गर्ने निकाय कडा ढंगले प्रस्तुत नहुँदा वातावरण प्रदूषित बनेको हो ।”
आम जनमानसमा चेतनाको कमी भएकाले पनि यसको प्रयोग बढि भएको भन्दै उनी थप्छिन्, “प्लास्टिकको झोलाहरु सहजता पूर्वक प्रयोग गर्न सकिने भएर पनि विकल्प हामी आफै खेजिरहेका छैनौँ ।”
हावा, पानी, जमिन, वायु यि सबै प्रदूषित छन् कारण प्लास्टिक पहिलो नम्बरमा छ ।
प्लास्टिक बाल्दा नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्रांगारिक रसायन, कार्बनडाइ अक्साइड आदिजस्ता हानिकारक ग्यास उत्पादन हुन्छन् जसका कारण वजोन लियर पातलिदैै गएको छ जसका कारण घाम विकिरण फिल्टर नभई मानिसको शरिरमा पर्छ । क्यान्सर त्यसको नतिजा हो ।
मानिसलाई मात्र नभएर उनीहरुले प्रयोग गरेका प्लास्टिकले वनस्पति र जनावरहरुलाई पनि असर गरिरहेको छ । कागजको झोलाहरु महङ्गो भएकाले पनि मानिसहरुको रोजाईमा पर्न नसकेको उनको बुझाइ छ ।
३० वर्ष अगाडी मानिसहरुले कागजको झोलाहरु प्रयोग गरिहेकै थिए तर कागजको सस्तो विकल्प प्लास्टिक आइसकेकाले त्यसको प्रयोग बढि भएको उनले बताइन् । भन्छिन्,“ प्लास्टिकको बेफाइदा सबैजनालाई थाहा छ तर नजरअन्दाज गरिरहेका छन् । ”
वतावरण संरक्षणमा स्थानिय तहको विशेष पहल हुनुपर्ने उनको भनाइ छ । काजको झोलाहरुलाई प्रोत्साहन र प्रर्वधन हुन सकेमात्र प्लास्टिकका झोलाहरुको प्रयोगमा कमी आउने उनले बताइन् ।
अधिक माछा मार्ने कार्य, रासायानिक प्रदूषण, ढल मिसावट, तटीय क्षेत्रमा संरचनाहरुको निर्माण, जलवायु परिवर्तन, बढ्दो अम्लीय पना र कोरल रिफको अत्याधिक दोहन लगायतका धेरै किसिमका समस्याहरुको समुद्रले सामना गरिरेहको उनको भनाई छ ।
समुन्द्रमा प्लास्टिकको असर
इन्डोनेशियाको सुमात्रा द्वीपको समुद्री तटमा प्लास्टिक थुप्रिने क्रम बढ्दो छ । भूस्वर्ग मानिने सो द्वीपमा स्थानीय व्यवसायीहरूले विचारै नपुर्याइ प्लास्टिक फ्याल्ने गरेका छन् । सन् २०२५ सम्ममा प्लास्टिक प्रदूषण ७० प्रतिशतले घटाउने इन्डोनेशियाको लक्ष्य चुनौतीपूर्ण देखिन्छ ।
केही समय अगाडि दक्षिणी थाइल्याण्डमा ८० वटा प्लास्टिकका झोला खाएको एउटा ह्वेल मृत अवस्थामा फेला परेको थियो । नौसेनाका एकजना विज्ञले शरीरभित्र भएका प्लास्टिकका कारण उक्त ह्वेललाई आफ्ना आहरा खाना असम्भव भएको बताएका थिए ।
काईमा प्लास्टिकको फोहोर निलेका जीवको उपचार गर्ने क्रममा कछुवा मरेको थियो । प्लास्टिकजन्य फोहोर तत्कालै त्यसका लागि जिम्मेवार रहेको शंका गरिएको थियो किनभने कछुवाहरुले धेरै प्लास्टिकजन्य वस्तुहरु खाएमा उनीहरुको पेट फुल्दछ र उनीहरुले समुद्रमाथि तैरिरहन पुग्छन् ।
के भन्छ महानगरपालिका ?
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले प्लास्टिकजन्य झोला वा अन्य वस्तु प्रयोग निषेध गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको स्विकारे ।
प्लास्टिकलाई प्रतिबन्ध गर्ने विधेयक तयारीमा रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता डंगोलले जानकारी दिए ।
टोल सुधार समितिलाई फोहोर व्यवस्थापनको जिम्मा दिइएको उनको भनाइ छ ।
“सबै फोहोरहरु हामीले घरमै राख्न अनुरोध गरेका छौं, घरबाटै ति फोहोरहरु उठाइन्छ” डंगोलले भने, “फोहोर संकलन र व्यवस्थापनको जिम्मा अब टोल सुधार समीतिलाई नै दिने तयारी गरिरहेका छौं ।”
लोकपथले डंगोलसँग प्रश्न गरेको थियो, काठमाडौं उपत्यकामा कुहिने र नकुहिने हाल्ने डस्टविन कति ओटा छ ?
डंगोलले यती नै भन्ने यकिन नभएको बताए ।
लोकपथले फेरी प्रश्न ग-यो महानगरपालीकाको पहलमा मात्रै कतिवटा छन् ?
उनले यतिनै छ भनेर उत्तर दिएनन् सबै टोल सुधार समितिले नै गर्ने बताए ।
सरकार फेरिएकाले सबै नयाँ भएकाले फोहोर मैला व्यवस्थापन सम्बन्धि नीति, नियम, ऐन र कानून बन्ने तयारीमा रहेको उनको भनाइ छ । ‘कार्यक्रम त ल्याइयो तर कार्यक्षेत्रमै पुगेर यसलाई निरुत्साहित गर्न नसकिएको हो’, उनले भने, ‘कसरी अघि बढ्ने भनेर छलफल भइरहेको छ।’
पटक–पटक नीति तथा कार्यक्रम बने । प्रभावकारी कार्यान्वयन हुन सकेनन् । अभियान नारामा मात्रै सिमित छ । प्लास्टिक झोलाको उत्पादन, विक्री वितरण र प्रयोगमा कमी आएको छैन । ‘नुन पसलदेखि सुन पसल’सम्म प्लास्टिक झोला प्रयोग भइरहेको छ । अचेल काठमाडौं लगायत देशका अधिकांश शहरमा प्लास्टिकजन्य फोहोरको बिगबिगी छ ।
नियम विपरित प्लास्टिकका झोला प्रयोग गरेमा सरकारले कारवाही गर्ने व्यवस्था गरे पनि प्लास्टिकको झोलाको प्रयोगमा कुनै पनि कमी आएको छैन ।
प्लास्टिकको बढ्दो प्रयोग जलवायू परिवर्तनसँग प्रत्यक्ष जोडिएको छ । अब समाधान के ? आजको मूल प्रश्न हो ।
हामी सबै गम्भिर बन्ने कि !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया