काठमाडौं । विश्वकप २०२६ क्वालिफायर एसियन जोन राउण्ड २ र २०२७ एएफसी एसियन कप छनोट दोस्रो चरणअन्तर्गत नेपाल र यमन बीचको पहिलो लेगको फुटबल खेल दशरथ रंगशालामा हुने भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उक्त खेल भोली मंगलबार साझ ७ बजे हुने जानकारी गराइएको हो ।
फिफा वरियतामा १५६औ स्थानमा रहेको यमनसँग १७३औ स्थानमा रहेको नेपालको सो खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अर्बटो एनेसको मुख्य प्रशिक्षणमा नेपाली टोली हाल बन्द प्रशिक्षणमा छ ।
समूह चरणमा यूएईसँगको खेल ४–० ले हारेको नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन । यस्तै पहिलो खेलमा बहराइनसँग २–० ले पराजित भएको यमन पनि अंकविहीन छ ।
यमनसँगको खेलका लागि साधारण प्याराफिटतर्फ ४ सय र भिआइपी प्याराफिटतर्फ १ हजार टिकट दर कायम गरिएको छ । टिकटहरु खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने जनाइएको छ ।
खेलका लागि नेपाल आएका यमनको राष्ट्रिय टोलीलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशालामा आवश्यक व्यवस्था मिलाइएको छ ।
प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रहेको जनाइएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले विश्वकप छनोटमा यमनविरुद्धको खेल जित्ने विश्वास व्यक्त गर्दै नेपालमा फुटबलको अवस्था राम्रो नभएपनि सक्दो राम्रो टिम बनाउने प्रयार गरेको बताएका छन् ।
उनले भने, ‘नेपालमा फुटबलको अवस्था सबैलाई थाहा छ त्यसमा पनि हामीले जति सक्दो राम्रो टिम बनाउने प्रयास गरेका छौ ।’
नेपालले यसअघि सन् २०१९ को एसिया कपका लागि छनोटमा यमनसँग खेलेको थियो । जसमध्ये सन् २०१७ मा सशस्त्र प्रहरी बलको मैदान हल्चोकमा भएको खेल गोलरहित बराबरी भएको थियो । कतारमा भएको अवे खेलमा भने नेपाल यमनसँग २–१ ले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया