द्दडोटी । पछिल्लो समय जिल्लाका किसानको अलैँची खेतीमा आर्कषण बढेको छ ।
धान, मकै तथा कोदोलगायत अन्न बाली उब्जनी हुने खेतीयोग्य जमीन मासेर किसानले धमाधम अलैंँची लगाउन थालेका छन् । अन्य बालीले भन्दा अलैंँचीको आम्दानी बढी हुने भएकाले पनि अलैंँची खेतीमा किसानको आकर्षण बढेको केआइ सिंह गाउँपालिका काफलीका अलैँली खेतीका किसान नारायण धामीले बताए ।
उनले भने “अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मेहनेत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।”
‘खोल्सीको कालो सुन’ अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका ५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताए । उनले भने, “अलैँची लगाउन ठूलो केही चाहिँदैन, सामान्यतया पानी हुने खोल्साखोल्सीमा पनि भएकाले अलैँची खेती गर्दा फाइदै फाइदा छ ।”
यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैंँचीले ढाकेको छ । जेठ तेस्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंँचीको बिरुवा रोप्ने गरिन्छ । सोही समयमा अलैँची खेती गरेका यहाँका किसानको अलैँची अहिले ढकमक्क परेको छ । यहाँका किसानले लगाएको अलैँची खेतीले गाउँ घरका खोल्साखोल्सी पनि रमाइलो भएको केआइसिंह –२ का शेरबहादुर ऐरले बताए । उनले भने, “शुरु शुरुमा के अलैँची होला सोचेका थियौँ, अहिले त ढकमक्क भएर यहाँको शोभा नै बढाएको छ ।”
यहाँका किसानले पूर्वी नेपालका इलाम, ताप्लेजुङलगायत ठाउँबाट अलैँचीका बिरुवा ल्याएर खेती गर्न थालेको स्थानीय किसान बताउँछन् । डोटीमा पहिलो पटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् ।
यहाँका किसानले सयौँ रोपनी खेतमा अलैँची लगाएको बताइएको छ । अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि किसान भने चिन्तित भएका छन् ।
पछिल्लो समय डोटीका किसानले व्यावसायिक रुपमा अलैँची खेती गर्न थालेपछि यहाँका बाँझा तथा खोल्सा परेका जमीन कामलायक हुन थालेको बडीकेदार गाउँपालिका १ बिपी नगरका लोकेन्द्र छेडालले बताए । उनले भने, “काम नलाग्ने भनेर छोडिएका जमीन पनि अलैँची खेती गरिन थालेपछि सदुपयोग भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया