चैत १४ देखि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुरु हुने, नेपालसहित पाँच राष्ट्र सहभागि

काठमाडौं । नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न यही चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा हुने उक्त मेलामा २ सय २५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहनेछ । 

मेलामा भारत, चीन, बङ्गलादेश, पास्तिानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता हुने महासङ्घद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १० र बङ्गलादेशका ४० वटा स्टल रहनेछन् । 

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहनेछन् । मेलाकै क्रममा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासङ्घले जनाएको छ । 

चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग बृहत् अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षर समेत गरिने छ । 

वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गर्ने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने र मेला अयोजनाकै अवधिमा नेपालमा लगानी सम्मेलनसमेत आयोजना गरिएकाले व्यापार मेलाको महत्व अझ वृद्धि हुने बताइएको छ । 

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसयिक सम्बन्ध विस्तारलाई महत्वपूर्ण कडीका रुपमा हेरिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताए । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे समेत छलफल गरिने उनले बताए । 

वर्षेनि आयोजना हुने यसप्रकारका मेलाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने महासङ्घले विश्वास लिएको छ । 

मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको महासङ्घले जनाएको छ । स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेला यही चैत १८ गतेसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?