‘आईपीएल’ क्रिकेटमा चेन्नई सुपर किङ्सको लगातार दोस्रो जीत

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ्सले जारी इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा लगातार दोस्रो जीत हात पारेको छ । 

फिरोज कोट्ला क्रिकेट स्टेडियममा मंगलवार राति भएको खेलमा चेन्नईले नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको हो ।

१ सय ४८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नईले १९ दशमलब ४ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । चेन्नईको जीतमा शेन वाट्सनले ४४ रन, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन तथा सुरेश रैनाले ३० रन तथा केदार जादबले २७ रन बनाए । 

यता दिल्लीका अमित मिश्राले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो । 

दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय पारी खेले ।ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिन सफल भए । चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका लेग स्पिनर सन्दीपलाई मैदान उतारेनन् ।

जितसँगै चेन्नईले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?