मंसिर ७ को भय : गणतन्त्र थप बलियो की राजतन्त्रको नारा झन पतन !

‘राज्य कमजोर भएपछि व्यक्ति हाबी हुन्छ कि व्यक्ति हाबी हुँदा व्यवस्था कमजोर हुन पुग्दछ’ यो अहिलेको टड्कारो प्रश्न बनेको छ ।

वर्तमान व्यवस्थाप्रति नै प्रश्न उठिरहेको भन्दै दलहरुले गलत भाष्य निर्माण गरिरहेका छन् । कांग्रेस, एमाले र माओवादीसहितका दलहरु वर्तमान व्यवस्था ल्याउनु नै आफूहरुको सबैभन्दा ठूलो उपलब्धि भन्दै आएका छन् ।

देशमा त्यस्तो कुनै राज्यद्रोह गरिरहेको समूह पनि छैन, सत्ता निर्माण र राजनीतिक भागबण्डा मिलाउन सबै एकजुट हुने गरेका पनि छन् । यस्तो अवस्थामा आखिर व्यवस्थामा कसले संकट निम्त्यायो त ? कुनै अमुक समूह ?, राजा वा राजाको वकालत गर्नेहरु ? २०६५ साल जेठ १५ गते नारायणहिटी छाडेपछि नागार्जुनमा शान्त छन् पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार । आफूहरुको अकर्मन्यतालाई ढाकछोप गर्नका लागि दलहरुले राजालाई तारेआँखो बनाइरहेका छन् । तर शान्त राजालाई देखाएर आफूहरुको गल्ती कमजोरी र भ्रष्टाचारलाई छुपाउन दलहरुले नै व्यवस्थाप्रतिको आक्रमण भनेर भनिरहेको कुरा केही प्रतिशत जनताले मात्र बुझेका छन् ।

गाउँघरमा भनिने जस्तो ‘मियो बिनाको दाईं’ भइरहेको मुलुक नेपालमा अहिले अराजकता मौलाएको पक्कै हो । त्यो पनि कसको कारणले यही राज्यव्यवस्था र राज्य संचालकहरुको नियत र गलत नैतिकताको कारणले भन्न अक्मकाउन पर्दैन ।
चुनाव आउँछ, नयाँ राजनीतिक दलहरु पूूराना दलहरुलाई गाली गर्र्दै भोट माग्छन्, पूराना राजनीतिक दलहरु पूराना राजा र व्यवस्थालाई दोष दिएर आफूहरु दुधले नुहाउने प्रवृत्तिमा रमाइरहेका देखिन्छन् । जसको कारण गुण र दोषका आधारमा समर्थन र विरोध गर्न सक्ने हैसियतामा नरहेका जनताले ठूलो स्वरगरी कराउँदा त्यही कुरालाई हो क्यारे भनेर पत्याउने र पछि लाग्ने अवस्थामा छन् ।

अहिले त्यही ठूलो स्वर गरि जनतालाई यो व्यवस्थाले नै देश यस्तो भएको भनेर जनता उचालिरहेका पात्र हुन् मेडिकल व्यवसायी दुर्गा प्रसाईं । माओवादीमा जन्म, एमालेमा हुर्काइ र अहिले राजतन्त्रतिर वैँस बेतित गर्ने सपना बुनिरहेका प्रसाईं कसरी यहाँसम्म पुगे भन्ने प्रश्न पनि टडकारो बनेर आउने गरेको छ । मंसिर ७ बिहीबार गते राष्ट्र, राष्ट्रिय र नागरिक बचाउने महाअभियान चलाउने भन्दै प्रचारप्रसारमा रहेका प्रसाईंको आन्दोलन के होला भन्ने आम चासो छ । त्यसको साथसाथै एमालेको युवा संघ र अनेरास्ववियुले गर्न लागेको ‘पावर सो’ ले कतै मुलुकलाई थप जटिलतामा त लैजाने होइन भनेर समेत सवालहरु उठन थालेका छन् ।

अब कुरा गरौँ उनै मेडिकल व्यवसायी प्रसाईंको । प्रसाईंको राजनीतिक उतारचढावलाई हेर्दा लाग्छ मदन भण्डारीको ‘जीवनका लागि शिद्धान्त की शिन्द्धान्तका लागि जीवन’ भन्ने भनाइ उचित हुन्छ । हिजो त्यही राजतन्त्र फाल्नका लागि गोलीगठ्ठा बोकेर राजालाई तारेआँखो देख्ने प्रसाईंका नजर कसरी र किन त्यही तन्त्र प्यारो हुन पुग्यो ? यसमा दोषी को ? यीनै प्रचण्ड र केपी ओली हुन् भन्ने बुझ्न कठिन छैन । पुँजीपति वर्गलाई वर्गसत्रु देख्ने ०२८ सालको झापा विद्रोह गर्ने एमाले होस् या पुँजीवादलाई दलाल देख्ने माओवादीहरु वरिपरि पुँजीपतिलाई राखेर तीनकै विरोध गरेजस्तो गरेर तीनकै पैसामा मोज गर्ने एमाले माओवादीको कर्तुत प्रदाफासको मुख्य स्रोत उनै दुर्गा प्रसाईं हुन् । कुनै बेला नेपालका कम्यूनिष्टहरु मिलानका लागि भरपर्दा पात्र बनेका उनै प्रसाईंको मन मोडिनुमा को दोषी ?

व्यवसायीक उन्नयनका लागि नयाँ नयाँ पार्टीको फेरो समातेर हार नखाएको भए हिजो राजतन्त्रको शिर ढाल्न हिड्ने प्रसाईंहरु आज त्यही मृत राजतन्त्रको पाउ मोल्न किन पुुग्थे होला ? सवाल सोचनीय छ । फेरि अहिले जसरी बजारमा प्रसाईंले थालेको आन्दोलनले राजतन्त्र वा हिन्दू राज्य नै ल्याउला ? भनेर श्याल हुइँया फिजाइएको छ । तर त्यो विभिन्न कोणबाट सम्भव देखिँदैन ।

झापा बिर्तामोडमा रहेको प्रसाईंको मेडिकल कलेजले सम्बन्धन पाएको भए नागरिक बचाउने महाअभियान जन्मिन्थ्यो की जन्मिने थिएन ? अनि तारे आँखो देख्ने राजतन्त्र रा राजा प्रसाईंहरुलाई प्यारो लाग्ने थियो कि थिएन् ? प्रसाईंको व्यवसाय फस्टाउँदै गएर अर्बौँ ऋण नपुगेको भए यो अभियान हुने थियो की थिएन् ? विभिन्न दल चहार्दै कुनै दिन हेबिवेट नेताको भान्छे बनेका प्रसाईंले सडक तताउँदैमा राजाको प्यारो बन्न सक्लान् ? वा उनले भनेजस्तो सधैँ उनका लागि सडकमा आउने भीड जम्मा भइरहला ? त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?