प्रदेश पर्यटन विधेयकमा छलफल जारी

विराटनगर । ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज पनि सैद्धान्तिक छलफल जारी छ । 

सो विधेयकमा प्रदेशसभा सदस्य जयराम यादव, झलकसिंह दर्लामी, बलबहादुर साम्सुहाङ, शान्ता पौडेल, शिवनारायण गनगाईं र शेखरचन्द्र थापाले आर्थिक स्रोतको प्रमुख आधार बनाउन सकिने पर्यटन क्षेत्रलाई व्यवस्थित एवं वैज्ञानिक बनाउने विधेयकलाई सङ्कुचित बनाउन नहुनेमा जोड दिए । 

उनीहरुले प्रदेश पर्यटन विकास बोर्ड स्थापना र पर्यटन क्षेत्रको पहिचान गरी निजी तथा सरकारी साझेदारीको अवधारणाबाट अघि बढ्न विधेयकलाई सहयोगी भूमिका निर्वाह गर्न सक्ने खालको बनाउनुपर्नेमा जोड दिँदै यहाँका धार्मिक स्थल, प्राकृतिक एवं एतिहासिक धरोहरको प्रचार गरी पर्यटन भित्र्याउन सक्ने खालको विधेयक बन्नुपर्छ भने । 

एकसय पच्चिस जातजाति रहेको नेपालमा सबै जातजातिका धर्म र सँस्कृतिको झलक देखाउन सकिने भएकाले जातीय एवं साँस्कृतिक ग्राम बनाउनका लागि पनि विधेयकमा ती कुरा समेटिनु पर्नेमा सदस्यहरुले सुझाव दिएका थिए । 

शून्य समय 

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य इन्दिरा राईले बिहिबार प्रदेशसभा सदस्य रामबहादुर मगरले व्यक्त गर्नुभएको यौन पर्यटन नेपाल भित्र्याउन सकिने आशयको भनाइले महिलाको अस्मितामा आँच पु-याएको छ भने । उनले हामीसँग आफ्नै मौलिकता र परम्परा उजागर गरेर पर्यटक भित्र्याउन प्रशस्त मार्ग हुँदाहुँदै सदस्य मगरले शून्य समयमा बोल्नुभएको विचार आपत्तिजनक छ भने । 

प्रदेशसभाको अर्को बैठक यही चैत १५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?